पर्व मनाउन रकम सङ्कलन गर्दै राउटेहरू
पोखरा । सुर्खेतबाट पोखरा आएका राउटेहरू वडा तिहार पर्व मनाउनको लागि रकम सङ्कलन गर्ने अभियानमा जुटेका छन् । यही मङ्सिर १२ गते सुर्खेतमा आफूहरूको ठुलो पर्व वडा तिहार पर्व धुमधामका साथ मनाइने हुँदा उक्त पर्वको लागि पोखरामा आर्थिक सङ्कलन गर्न आएको टोली नेता शेर बहादुर शाहीले बताउनु भयो ।
बुधबार पोखरा आउनु भएको शाही नेतृत्वको ७ सदस्य टोलीलाई पोखरा महानगरपालिका कार्यालय, गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालय, जिल्ला प्रशासन कार्यालय कास्की लगायतका विभिन्न संघ संस्था तथा व्यक्तिहरूले उहाँहरूलाई आर्थिक सहयोग गर्नु भएको छ ।
पोखरा महानगरपालिकाका उपमेयर मन्जुदेवि गुरुङसँग भेटघाट गर्दै राउटेको टोलीले आफूहरू १० वर्षमा बल्ल सहयोगको लागि आएको भन्दै आर्थिक सहयोग गर्न माग गर्नु भएको थियो । पोखराका मेयर धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई समेत नभएको अवस्थामा राउटेहरू आफ्नो कार्यालयमा आएकोले आफूहरूले २१ हजार मात्र सहयोग गरिएको उपमेयर गुरुङले बताउनु भयो ।
उहाँले राउटेहरूलाई आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्न आग्रह गर्दै वडा तिहारको अग्रिम शुभकामना समेत दिनु भएको थियो । त्यसै गरी राउटेहरूलाई पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष राधिका कुमारी शाहीले १ हजार, कानून महाशाखा प्रमुख नारायण शर्माले १ हजार ६ सय व्यक्तिगत रुपमा सहयोग गर्नु भएको थियो । त्यसै गरी जिल्ला प्रशासन कार्यालय कास्कीले उहाँहरूलाई सुर्खेत फर्किदा बसको व्यवस्था गर्न समन्वय गरेको छ भने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उहाँहरूलाई खाजा खर्च व्यक्तिगत रुपमा सहयोग गर्नु भयो । आर्थिक मामिला मन्त्रालयबाट भने १५ हजार सहयोग प्राप्त गरेको राउटे शेर बहादुर साहीले बताउनु भयो ।
पोखरा महानगरपालिका वडा नम्बर ८ ले उहाँहरूलाई बुधबार आवासीय सहितको सुविधा दिएर व्यवस्थापन गरेको वडा अध्यक्ष रुद्रनाथ बरालले बताउनु भयो । पोखराको नागढुंगाबाट उहाँहरूलाई बुधबार राति करिब ८ः३० बजे बोलाएर होटलमा व्यवस्थापन गरिएको अध्यक्ष बरालले जनाउनु भयो । बिहानको खाना खाएर उहाँहरूको टोली रकम सङ्कलन अभियानमा लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्