सीमा सुरक्षा बलियो बनाउन प्रहरीको पैदल गस्ती अभियान
कपिलवस्तु । कपिलवस्तुमा प्रहरीले सीमावर्ती क्षेत्रमा लामो दुरी पैदल गस्ती (लङ रुट पेट्रोलिङ) को अभियान सुरु गरेको छ । पैदल गस्तीले सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिबिधिहरुको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी हुने जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्टले बताउनुभयो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले सीमा क्षेत्रमा रहेका स्थानीयको समस्या बुझ्न, समुदाय र प्रहरी बीच सम दुरी कायम गर्न अभियान सञ्चालन गरिएको जनाइएको छ ।
प्रहरी नायव निरीक्षक राम बहादुर मगरको कमान्डमा खटिएको ११ जना प्रहरीको गस्ती टोलीले जनप्रतिनिधि, स्थानीयसँग सुरक्षा सम्बन्धी छलफल र आधारभूत सुरक्षाको विषयमा समुदायलाई जानकारी गराएको इप्रका प्रमुख प्रहरी निरीक्षक सुरज खत्रीले बताउनुभयो । उहाँका अनुसार कृष्णनगर प्रहरीले महिनामा २ पटक लामो दुरीमा पैदल गस्ती गर्ने लक्ष्य राखेको छ ।
प्रहरीको प्रत्यक्ष उपस्थिति नभएको स्थानमा लामो दुरीको ग्रामीण गस्ती टोली पुगेपछि स्थानीय खुसी भएको प्रहरीले जनाएको छ । पहिलो पटक गरिएको पैदल गस्तीबाट सीमा क्षेत्रमा हुने अपराध र विभिन्न घटनाको सूचना प्रहरीलाई दिने स्थानीयले प्रतिबद्धता गरेको प्रनानी मगरले बताउनुभयो ।
कृष्णनगर नगरपालिकाको बेदर्मीदेखि सुरु गरिएको गस्ती २५ किलो मिटर यात्रा गरी बगही सीमा पुगेर अभियानको सुरु गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्