तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतीय र सामुद्रिक देशबीच साझा कार्यक्रम बनाएर काम गर्न राष्ट्रपति पौडेलको आव्हान

बाकु । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गर्नुभएको छ ।

अजरबैजानको बाकु सहरमा यही सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) अन्तर्गत नेपालले आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एड्रेसिङ लस एण्ड डयामेज इन द हिमालय (पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन)’ शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो–“पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आव्हान गर्दछु ।”

उहाँले मुख्य गरी कार्बन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उहाँको भनाइ थियो ।

“तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकि त्यस क्षेत्रमा मानवीय गतिविधि शुन्य नै थियो”, उहाँले भन्नुभयो । त्यस्तै, विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्व भन्दा बढीको हानी नोक्सानी भएको जानकारी उहाँले दिनुभयो । यस प्रकारको हानी नोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुबान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उहाँको धारणा थियो ।

“भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिबेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेन्डामाथि विश्वको ध्यानाकर्षण गराउन राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो । सो अवसरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा किर्दीस्तानका राष्ट्रपति लगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो ।

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन ९कोप–२९० अन्तर्गत मङगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुग्नुभएको हो । उहाँलाई हैदर अलीएभ अन्तर्राष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गर्नुभएको थियो ।

यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।

कोप–२९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।

सम्मेलन आगामी मङ्सिर ७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button