कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वृद्धि विकासमा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली

जुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विकासमा वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले दुर्गम कर्णालीसहित पश्चिम नेपालको भरोसा केन्द्र बनेको प्रतिष्ठानको अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सरकारले कुनै कुराको कमी हुन नदिने बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन बुधवार जुम्ला आइपुग्नुभएका प्रधानमन्त्री ओलीले विशेषज्ञ डाक्टर उत्पादन र स्वास्थ्य सेवा प्रवाहको परिकल्पना नगरेका कर्णालीवासीले घर घरमा गुणस्तरीय स्वास्थ्य सेवा पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
“प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह गर्न सफल भयौ । यो हाम्रो गौरवको कुरा हो । कुनै बेला डाक्टर नपाइने ठाउँमा अहिले दक्ष जनशक्ति दीक्षित भएका छन् । अब कर्णालीको स्वास्थ्य सेवाले थप गति लिने विश्वास छ । अब कर्णाली बन्दै छ । यहाँका सम्भावनाले कर्णाली दुर्गम रहेन । अब चुनौतीहरू घटेका छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो,
प्रतिष्ठानका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषि, पर्यटन, भाषा, साहित्यसँगै कर्णाली अब स्वास्थ्य सेवा प्रवाहका हिसाबले पनि आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले दीक्षित भएका विद्यार्थीलाई अझै इमानदारीका साथ राष्ट्र प्रति कर्तव्यनिष्ठ भएर सेवा गरिदिन समेत अनुरोध गर्नुभयो ।
“आज हामीले सुविधायुक्त शैक्षिक भवन समेत उद्घाटन गरेका छौँ । यसले अध्ययन, अनुसन्धान र सेवा प्रवाहलाई सकारात्मक बल पुग्ने छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कर्णालीका १० सहित सुदूरपश्चिमका ३ जिल्ला गरी १३ जिल्लामा सेवा प्रवाह गरिरहेको कर्णाली प्रतिष्ठानको वृद्धि विकासमा वर्तमान सरकारको ध्यान पुगेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री ओलीले सिनेट बैठकमा प्रतिष्ठानका विभिन्न विषयमा गहन छलफल गरिएको जानकारी समेत दिनुभयो ।
लामो समयदेखि काम गरिरहनुभएका शिक्षक कर्मचारीको स्तर वृद्धिको विषयलाई समेत गम्भीर रूपमा लिएका छौँ भन्नुहुँदै उहाँले करोडौँका संरचना बन्नु, विशेषज्ञ डाक्टर उत्पादन हुनुले कर्णाली स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्दै गएको बताउनुभयो ।
उहाँले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम कर्णालीमा प्रदान गरेको सेवा प्रवाहका विषयमा देशमा मात्र नभई विदेशमा समेत चर्चा भइरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले आर्थिक अभावले यहाँका भवन अलपत्र पर्ने, स्वास्थ्य सेवा रोकिने स्थिति कहिले आउन नदिइने बताउनुभयो ।
उहाँले दैलेखको राकम कर्णालीमा बन्ने एक सय शय्या अस्पताल र ट्रमा सेन्टर निर्माणमा समेत सरकारको ध्यान पुगेको बताउनुभयो । राकम कर्णालीमा बन्ने संरचना स्थलको स्थलगत अनुगमन समेत गरिसकेको र सुदूरपश्चिमका नागरिकले पनि सहज रूपमा सेवा पाउने भएकोले राकममा एक सय शय्या अस्पताल निर्माणलाई अघि बढाउन पहल गर्ने उल्लेख गर्नुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मङ्गल रावलले प्रथम दीक्षान्त समारोह गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो ।
कोरोना कालमा देशकै उत्कृष्ट सेवा प्रवाह गरेको प्रतिष्ठानले कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
हाल प्रतिष्ठानमा एमडी, एमबीबीएस, विएनएस लगायतका १४ वटा विभिन्न स्नातक स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालित रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्