तपाईँ सुन्दै हुनुहुन्छः

१२ हजार ९ सय ७४ छात्राहरूलाई आत्मरक्षा तालिम

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका १२ हजार ९ सय ७४ जना छात्राहरूलाई एक कार्यक्रमका साथ आत्मरक्षाका लागि प्रशिक्षण दिएको छ । 

वीरगञ्जको आदर्शनगरस्थित रङ्गशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरूलाई प्रशिक्षण दिनुभएको थियो । 

वीरगञ्ज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमबिच खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्नुहुँदै सरकारले महिला सशक्तीकरणका लागि दीर्घकालीन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले वीरगञ्ज महानगर पालिकाले एकसाथ नगर क्षेत्रका १२ हजार ९ सय ७४ छात्राहरूलाई तालिम दिएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरूलाई आत्मविश्वास बढाउने बताउनुभयो । 

नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निःशुल्क रुपमा तालिम दिँदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको बताउनुभयो । 

खानेपानी मन्त्री यादवले मधेसमा महिला हिंसाका घटना बढिरहेको बेला तालिमले अब महिला हिंसा सहन सक्दैनन् र प्रतिकार गर्न सक्षम छन् भन्ने सन्देश समेत दिने दाबी गर्नुभयो । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले छात्राहरूलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउँदै अव वीरगञ्जका सामुदायिक तथा निजी विद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मरक्षाको लागि मार्शल आर्ट्स सम्बन्धी तालिम दिइने बताउनुभयो । 

नगर प्रमुख सिंहले आजको मिति सम्म वीरगञ्ज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरूले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वर्ल्ड रेकर्डमा पुगिसकेको जानकारी दिनुभयो । 

यसअघि भारतको आग्रा स्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरूलाई आत्मरक्षाको तालिम दिएर वर्ल्ड रेकर्ड बनाएको थियो । 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएको धन्यवाद दिँदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताउनुभयो ।

तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात् मास्टर चित्ताले महिला तथा किशोरीहरूलाई दिइने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशीर्वाद पाए जस्तो हुने बताउनुभयो । 

उहाँले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली ऊर्जा प्राप्त हुने र यसले जीवन सङ्कटमा परेको बेला महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button