धान उत्पादन बढेपछि खुसी छन् किसान, उत्साहित भएर विक्री गर्दै

नेपालगञ्ज। बाँकेमा किसानको धान खरिद गर्न थालिएको छ । कार्तिक २० गतेदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले धान खरिद गर्न सुरु गरेको हो । यस वर्ष धान उत्पादन बढेपछि किसानहरू उत्साहित भएर धान विक्री गरिरहेका छन् ।
बाँकेमा यस बर्ष धान उत्पादन बढेको छ । प्रति कट्ठा ३ देखि ५ क्विन्टलसम्म उत्पादन बढेको किसानहरू बताउँछन् । समयमै बर्षात भएको र मल पनि बेलैमा पाएका कारण उत्पादन बढेको किसानहरूको भनाई छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जमा धान विक्रीका लागि पुगेका किसान उत्साहित देखिन्छन् । फत्तेपुरका किसान कयुम मोहम्मद मुकेरीले २० देखि २५ प्रतिशत उत्पादन बढेको बताउनुहुन्छ । धान उत्पादन बढेपछि आफूहरू खुसी भएको मुकेरीको भनाई छ ।
नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्य अनुसार मोटा धान प्रति क्विन्टल ३४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धान ३५ सय ८० रुपैयाँ ६२ पैसामा खरिद भइरहेको छ । धान विक्रीका लागि खाद्यले वडाको सिफारिस अनिवार्य गरेको छ । वडा कार्यालयको सिफारिस अनुसार कुपन उपलब्ध गराउने गरिएको छ । यसअघि सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस चाहिने गरेकोमा यस बर्ष वडाकै सिफारिस भए हुने व्यवस्था गरेर किसानलाई अझ सहज बनाइएको छ । धान उत्पादन बढ्दा उत्साहित भएका किसान धानको मूल्य भने अझै मेहनत अनुसारको नभएको गुनासो गर्नुहुन्छ, राप्तीसोनारीका किसान लखराम मौर्य ।

खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले धमाधम धान खरिद गरिरहेको छ । वडाको सिफारिसका लागि जग्गाको लालपूर्जा र नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । वास्तविक किसानलाई खाद्यमा धान बेच्ने वातावरण निर्माण गरी व्यापारीलाई निरुत्साहित गर्ने उद्देश्य रहेको खाद्यले जनाएको छ । कार्यालय प्रमुख रामचरण लामिछानेले किसानलाई सहज हुने गरी व्यवस्था मिलाइएको बताउनुहुन्छ ।
बाँकेमा यस बर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यस बर्ष मोटा धान ३० हजार क्विन्टल र मध्यम धान १० हजार क्विन्टल खरिद गर्ने लक्ष्य लिएको लामिछानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्