मेची किनारमा छठ पूजाको तयारी अन्तिम
भद्रपुर, झापा । पूर्वी नेपालमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहने पहिचान बनाएको झापाको भद्रपुरस्थित मेची नदीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ ।
विगतमा तराईबासीको पर्व रहेको छठलाई भद्रपुरको मेची किनारमा हिमाली, पहाडी, मारवाडी, बङ्गालीलगायत सबै जातजातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजा गर्ने गरिएको छ ।
नेपाल–भारतको सीमावर्ती क्षेत्रमा पर्ने भद्रपुरस्थित मेची नदीमा छठ पर्वमा झण्डै ५ हजार पूजास्थल निर्माण हुँदैछ । करिब ३ किलोमिटर क्षेत्रमा नदीको वारीपारी दुबैपट्टि पूजा गर्ने गरी आयोजकले व्यवस्थापन गरिरहेको जनाइएको छ ।
पूजा स्थलका लागि नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्नेछन् भने नेत्रज्योति समाजलगायत सामाजिक संघ–संस्थाले मेलामा सहभागी भक्तजनका लागि निःशुल्क पानी तथा चियाको व्यवस्था गर्ने जनाएका छन् ।
पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारत गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चार दिनसम्म मनाइने छठ पर्वमा पहिलो दिन र दोस्रो दिन सरसफाई तथा शुद्धताको काम गर्ने गरिन्छ भने तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजाको औपचारिक सुरुवात गर्ने गरिन्छ । त्यस्तै चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि सम्पन्न गर्ने गरिन्छ ।
यो पर्वमा जनसहभागितामा नेपालको जनकपुरपछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका पूर्व अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेची नदीको पूजा अवलोकन गर्न नेपाल र भारतका गरी एक लाख हाराहारीमा भक्तजन उपस्थित हुने गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्