सामुदायिक वनमा उत्पादित कागतीले बजार पाएन
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवातारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले उचित बजार पाउन सकेको छैन ।
सामुदायिक वनका अध्यक्ष काशीराम चौधरीले, लटरम्म कागती फलेको छ उक्त कागती बिक्री हुने हो भने त्यसबाट सो वनका उपभोक्तालाई राम्रो आम्दानी हुने र वन समितिलाई पनि फाइदा पुग्ने बताउनु भयो । उहाँले वनमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन स्थानीय निकाय सँग आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो,, ‘कागतीले बजार नपाएपछि वनका उपभोक्ता समस्यामा परेकाले बजारको सहजीकरणका लागि पहल गरिदिन स्थानीय सरकार सँग आग्रह गरेका छौ ।’ अध्यक्ष चौधरीका अनुसार पहिलो पटक सो वनमा करिब एक हजार किलो भन्दा बढी कागती फलेको बताउनुभयो ।
भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको वनका उपभोक्ता अमर घर्तिमगरले बताउनु भयो ।
राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले गैरसरकारी संस्थाको सहयोगमा वनमा कागती फलेको देखेर आफूलाई हर्षित बनाएको बताउँदै उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमा उत्पादित कागतीलाई बजारीकरण गर्नका लागि वडाले पहल गर्ने छ ।’
कृषि ज्ञान केन्द्र बाँके प्रमुख बिनोद घिमिरेले सामुदायिक वनमा गरिएको कागती खेती आफ्नो कार्यक्षेत्र अन्तरगत नपर्ने भएकोले वनमा उत्पादित कागती उपभोक्ताले आफै बिक्री गर्न जरुरी रहेको बताउनु भयो ।
वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको वनका अध्यक्ष चौधरीले बताउनु भयो । उहाँले स्थानीय, प्रदेश र संघीय सरकारको सहयोग पाएमा कागती खेतीसँगै वन क्षेत्रको खाली जग्गामा पार्क निर्माण गरी पर्यटकीय गन्तव्यको रुपमा सामुदायिक वनलाई विकास गर्ने योजना रहेको बताउनु भयो ।
बिग्रुप, र एडब्लुओको आर्थिक सहयोगमा १.७ हेक्टर क्षेत्रफलमा कागती कलमी ३३५, कागती बिजु ५७५, सितल चिनी ६२, जामुन १५० र बेल ४७५ गरी जम्मा १५९७ बिरुवा वनमा लगाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्