तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जका इस्लाम धर्मावलम्बी अगुवाहरूले मनाए तिहार

बाँके । धार्मिक तथा सांस्कृतिक सद्भावको सहर मानिने नेपालगन्जमा इस्लाम धर्मावलम्बीका अगुवाहरूले पनि हिन्दू समुदाय जस्तै गरी तिहार मनाएका छन् ।

दिदीबहिनीको हातबाट सप्तरङ्गी टीका र माला लगाएर इस्लाम धर्मावलम्बीका अगुवाहरूले तिहार मनाएका छन् ।

१८ वर्षदेखि टीका लगाउँदै आउनुभएका समाजसेवी प्रवेश अली सिद्धिकीले मीना तुलाधर र दिदी माया थापासँग टीका ग्रहण गर्नुभएको छ । एक अर्को धर्मप्रति सम्मान गर्ने सोचको विकास गर्न टीका लगाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दसैंतिहार जस्ता पर्व मनाउँदा हिन्दू र मुस्लिम समुदायबीचको सम्बन्ध अझ सुमधुर हुन्छ ।” तिहारमा हिन्दू समुदायजस्तै टीका माला लगाउँदा थप उत्साह र उमङ्ग छाउने गरेको मुस्लिम अगुवा सिद्धिकीको भनाई छ ।

नेपालगन्जमा हिन्दू धर्मावलम्बीहरूले इस्लाम धर्मावलम्बीको पर्वमा सहभागी हुन्छन् । खुसीयाली बाँड्छन्। शुभकामना आदानप्रदान गरी सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सघाउँदै आएका छन् ।

राप्तीसोनारीमा ९६ बर्षीय दिदीबाट पुनले लगाए टिका
तिहारको मुख्य दिन आज भाइटीका पर्व बाँकेमा पनि मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन आज धुमधामका साथ भाइटिका मनाइँदै छ ।
भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–७ निबुवतारकी ९६ बर्षीय अमृता घर्ती मगरले आफ्नो ७५ बर्षीय भाइ लालबहादुर पुनलाई टीका लगाएर आर्सीवाद दिएर भाइटिका मनाउनुभएको छ ।

दिदी अमृताले टीका लगाएपछि पुनले पनि टीका लगाई दिनुभएको थियो । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने विश्वासका साथ टिका ग्रहण गरेको पुनले बताउनुभयो ।

“दिदीबहिनी मध्ये अमृता दिदी मात्र हुनुहुन्छ, यो तिहारमा आर्सीवाद लिन पाएको छु, अर्को पर्वमा पाउने हो वा होइन थाहा छैन ।” उहाँले भन्नुभयो, “रोल्पामा हुँदा भाइटिका लगाउने चलन थिएन तर तराई झरेपछि हामीले पनि भाइटिका लगाउन सिकेको भयो ।” पुनले भन्नुभयो, सद्भावको सन्देश दिनका लागि पनि हामीले टिका लगाउने गरेका छौँ, हिन्दुहरूको तिहार पर्व दाजुभाइ र दिदीबहिनीहरूको आत्मियता जोड्ने पर्व भएको हुनाले विगतका केही वर्षदेखि दिदीको हातबाट तिहारको सप्तरङ्गी टीका लगाउँदै आएको बताउनुभयो । उहाँले आफूलाई तिहार पर्व अति नै मन पर्ने बताउनुभयो ।

पुनले भन्नुभयो, “सामाजिक सद्भाव कायम राख्नका लागि हामीहरुले टीका लगाउन सुरु गरेका हौँ ।” बाँके सामाजिक सद्भाव बोकेको जिल्ला हो । यहाँ विभिन्न धर्म मान्ने समुदायबिच सामाजिक एकता छ । यहाँ हिन्दु, मुस्लिम, क्रिश्चियन, बौद्ध तथा शिख धर्म मान्ने समुदायहरू मिलेर बसेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button