तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा भेडा–च्याङ्ग्राको बिक्री सुरु

पोखरा । हिमाल पारीको जिल्ला मुस्ताङबाट हालसम्म ७ हजार ९ सय वटा भेडा च्याङ्ग्रा निकासी भएका छन् । नेपालीहरूको महान् पर्व वडा दसैँको अवसरमा बिक्री गर्ने उद्देश्यले मुस्ताङबाट आइतबारसम्म ७ हजार ९ सय वटा भेडा च्याङ्ग्रा निकासी भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मुस्ताङका डा.लालमणि अर्यालले बताउनुभयो ।

असोज ८ गतेदेखि मुस्ताङबाट भेडा च्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्न सुरु भए पनि अझै केही दिनसम्म उक्त कार्य जारी रहने भएको उहाँले जनाउनुभयो ।

मुस्ताङको जोमसोमबाट म्याग्दी हुँदै पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रमा दशैं पर्व लक्षित हुने गरी यस वर्ष करिब ८ हजार बढी भेडा च्याङ्ग्रा बिक्रीको लागि मुस्ताङबाट बाहिरिने व्यवसायीहरूको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा निकै सहुलियत भएको छ । गत वर्ष अघिल्लो पटकमा ५० हजार मूल्य भनिने भेडा च्याङ्ग्रा यस वर्ष ३० देखि ४० हजारमा बिक्री भइरहेका छन् । मुस्ताङ लोमान्थाङमा ठुला प्रजातिको प्रति च्याङ्ग्रा ३४ हजारमा बिक्री गरेको पासाङ गुरुङले बताउनुभयो ।

यसैबिच, मुस्ताङमा हुर्काइएका भेडा च्याङ्ग्राको पोखरामा बिक्री वितरण सुरु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button