बारा प्रहरीको सुरक्षा योजना सार्वजनिक : सीमा नाकाहरूमा तालिमप्राप्त कुकुरबाट निगरानी
बारा । बारा प्रहरीले दशैँ–तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ढुक्कसँग मनाउन सबैमा अपिल गरेकाे छ ।
मुखमा नै रहेका चाडपर्वलाई मध्यनजर गरेर प्रहरीले पत्रकार सम्मेलन गरि सुरक्षा योजना सार्वजनिक गर्दै १ हजार १५ जना सुरक्षाकर्मी परिचालन गर्ने प्रहरी उपरिक्षक महेन्द्र खडकाले जानकारी दिनुभयो ।
दसैँ तिहारको मौका छोपी हुने चोरी डकैती तथा लुटपाटका घटनालाई न्यूनीकरण एवम् शान्ति सुरक्षा चुस्त दुरुस्त बनाई अप्रिय घटना नघटोस् भनी प्रहरीलाई हाई अलर्ट राख्ने र चुरियामाई देखि निजगढ सम्म आउने यात्रु बाहक सवारी साधनहरूमा हतियार सहितको प्रहरी गाडीमा राखेर सवारी साधन आवतजावत गराउने योजना रहेको प्रहरी उपरिक्षक खडकाले भन्नुभयो ।
कुटपिट, चोरी, डकैती, पाकेटमार, लुटपाट, जुवा, अवैध मदिरा विक्री वितरण, आगजनी, विस्फोटन, तस्करी, चोरी निकासी, हत्या, अपहरण, ठगी, चोरी, महिला हिंसालगायतका आपराधिक क्रियाकलापहरू हुन नदिन प्रहरीलाई खटाइएको सो अवस्थामा प्रहरी उपरिक्षक खडकाले बताउनुभयो ।
शान्ति सुरक्षा थप मजबुत बनाउन जिल्ला प्रशासन कार्यालयका प्रमुख एवम् सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीसँग समन्वय, सहकार्य गरि आवश्यकता अनुसार सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग थप जनशक्ति माग गरि परिचालन गरिने सुरक्षा योजनामा रहेको प्रहरी उपरिक्षक खडकाले जानकारी दिनुभएको थियो ।
त्यसको अलावा बढी भिडभाड हुने स्थानहरू, व्यापारिक केन्द्र, वित्तीय संस्था, बैङ्क तथा सुन पसलमा सिसिटिभी क्यामराबाट उच्च निगरानी राखिने समेत जानकारी दिनुभयो ।
सवारी साधनको ‘गति’ नियन्त्रणका लागि विभिन्न स्थानमा आकस्मिक चेकजाँच,मोटरसाइकल गस्ती लगायतका सुरक्षा जाँच गरिने प्रहरी उपरिक्षक खड्काको भनाई रहेको थियो ।
प्रहरीले सुरक्षा योजनालाई सफल बनाउन १५ थरिका ‘ड्युटी’ को व्यवस्था मिलाएको छ । भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि प्रहरीले ड्युटी चेकिङ तथा अनुगमन, मोबाइल गस्ती, पिकेट टोली , हाइवे गस्ती, रात्रि बसमा ड्युटी, मोटरसाइकल गस्ती, पैदल गस्ती, क्यूआरटी टोली,सूचना सङ्कलन, यात्रु सहायता कक्ष, भिग्रेस चेकिङ, घटना अनुसन्धान, ब्रेथालाइजरको प्रयोग, कार्यालय ड्युटीसहितका योजनाहरू लागू गर्ने भएको छ ।
प्रतिक्रिया राख्नुहोस्