दीर्घकालीन रुपमा सबल बनाउने गरी सरकारले संरचना निर्माणकाे काम गर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा पछिको बाढी, पहिरो र डुबानका कारण उत्पन्न विपद् सबै नेपालीको साझा विपत्ति भएको उल्लेख गर्नुहुँदै सरकार यसप्रति चनाखो भई काम गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले विगतका समयमा पनि विपद्का बेला नेपालीहरू एकसाथ अगाडि बढ्छन् भन्ने अनुभव रहेको उल्लेख गर्नुहुँदै विपत्तिको यस घडीमा पनि मिलेर काम गर्न सबैलाई आह्वान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले हामी सबै विपद्का घटनाबाट दुःखी रहेको उल्लेख गर्नुहुँदै कतिपय संरचनागत त्रुटिका कारण पनि बढी क्षतिहरू भएका कारण आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाउनेगरी सरकारले काम गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएको र त्यस्तो अवस्था आउला भन्ने पूर्वानुमान समेत नगरिएको हुनाले उद्धार र खोजमा केही कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न त्यस वेला आफूले आग्रह गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारलाई प्रश्रय नदिने गरी काम गरिरहेकोले आफूसँग त्यस्ता कुराहरू जोड्दा सान्दर्भिक नहुने समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यस अघि पनि हिजो संयुक्त राष्ट्रसङ्घको महासभा बाट स्वदेश फर्किना साथ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा आफु बाढी पहिरोको प्रकोपको बारेमा जानकार रहेको, सरकारले सक्दो उद्धार र राहतको काम गरेको र अब यसलाई अझ बढी प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीका तर्फबाट जारी विज्ञप्ति बाचन गर्नुहुँदै नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बाढी–पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ भैसकेको जानकारी दिनुभयो ।

मुख्यसचिव अर्यालले खोजी तथा उद्धारको बाँकी काम आगामी दुई दिनभित्र गरिसकिने उल्लेख गर्नुहुँदै घाइतेहरूको निःशुल्क उपचार भइरहेको र विपद्पछि फैलन सक्ने सम्भावित रोगको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो ।
मुख्यसचिव अर्यालले क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत् जस्ता अत्यावश्यक सेवा सञ्चालनका लागि समेत प्रक्रिया सुरु भैसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले दिनुभएको जानकारी अनुसार असोज ११ गते देखी १३ गते सम्मको अविरल वर्षा पछिको बाढी पहिरो र डुबानमा परी २ सय २४ जनाको मृत्यु भएको छ भने २४ जना अझै सम्म बेपत्ता रहेका छन् ।
यस्तै बाढी पहिरोमा परी १ सय ५८ जना घाइते भएका छन् भने उच्च जोखिममा रहेका ४ हजार ३ सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको मुख्य सचिव अर्यालले जनाकारी दिनुभयो ।
विपद्को घटनाबाट काठमाडौँ उपत्यका सहित देशका विभिन्न २१ जिल्लाहरू प्रभावित भएका छन् ।
यस्तै बाढी पहिरोबाट ४ अर्ब रुपैयाँ भन्दा बढीको जलविद्युतका संरचनाहरू, ३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढीको खानेपानी संरचना, २ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढीको सडक संरचना, र १ अर्ब रुपैयाँ भन्दा बढीको सिँचाई संरचनामा क्षति पुगेको मुख्य सचिव अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
यस्तै निजी क्षेत्रका व्यवसायीहरूसँग समन्वय गरी दशैं मनाउन गाउँ जाने यात्रुहरूलाई सहज र सुरक्षित रुपमा गन्तव्य सम्म पुर्याउन व्यवस्था मिलाइने, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी १ महिना भित्र बाढीले पु¥याएको क्षतिको प्रारम्भिक लेखाजोखा गरी जनजीवनलाई सामान्य बनाइने मुख्यसचिव अर्यालले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्