भारी बर्षाका कारण मेची राजमार्गको राजदुवाली सडक खण्ड जोखिममा
इलाम । तीन दिन यता निरन्तर वर्षा हुन थालेपछि इलामको माई खोला राजदुवाली माथिको सडक खण्डमा जोखिम बढेको छ ।
वर्षौंदेखि करोडौँ रुपियाँ खर्चँदा पनि सडक बग्ने क्रम नरोकिएपछि मेची राजमार्गमा अहिले दैनिक चल्ने सवारी साधनहरूलाई पनि राजदुवाली–भन्ज्याङ सडक खण्ड पार गर्न निकै मुस्किल हुने गरेको छ । अझै आइतबारसम्म वर्षा निरन्तर हुने समाचार आएपछि जिल्लास्थित सरोकारवाला निकायमा थप चिन्ता छ ।
बिहीबार सम्पन्न इलामको आठौँ जिल्ला सभाले पनि यो सडकको वैकल्पिक मार्गको सम्भावना तत्काल खोज्न माथिल्लो निकायमा आग्रह गर्ने प्रस्ताव अघि सारेको जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईले बताउनुभयो । उक्त सडक खण्डको वैकल्पिक सडक निर्माण का लागि चालू आर्थिक वर्षमा योजना आयोगको रातो किताबमा एक करोड रुपियाँ बजेट रहेको उल्लेख छ ।
इलाम नगरपालिका–१० गोदकको सिमल गोलाइदेखि माइजोगमाई गाउँपालिकामा पर्ने माई बेनी हुँदै इलाम तिल्केनी जोड्ने गरि वैकल्पिक मार्ग जोड्ने गरि यो रकम विनियोजित भएको प्रमुख राईले बताउनुभयो । हरेक वर्ष वर्षायाम शुरु भएपछि राजमार्गको यो खण्डमा सवारीहरू कष्टपूर्ण ढंगले सञ्चालन हुने गरेका थिए । यसपटक पनि यो खण्डमा सडक सुचारु गराउन पानी परेर हिलो हुनसाथ स्काभेटरले सफा गरेर यातायात सहज गराउने गरिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्