करोडौँ मूल्यका सरकारी सवारी साधन बेवारिसे
गुल्मी । गुल्मीमा करोडौँ मूल्य पर्ने सरकारी सवारी साधन वर्षौं देखि बेवारिसे अवस्थामा रहेका छन् । सरकारले लिलाम बिक्री तर्फ चासो नदिँदा सरकारी सवारी साधन वर्षौंदेखि अलपत्र परेका हुन ।
जिल्ला समन्वय समिति गुल्मीको परिसरमा रहेका करोडौँ मूल्य पर्ने चार वटा ल्यान्डरोभर कम्पनीका गाडी र गुल्मी अस्पतालका दुई वटा एम्बुलेन्स लामो समय देखि अलपत्र अवस्थामा रहेका छन् । छ वटा सवारी साधन मध्ये कार्यालयमा हेर्दा कुनैको अभिलेख छ भने कुनैको अभिलेखसमेत भेट सकिँदैन । त्यस्तै जिल्लाका सरकारी कार्यालय र स्थानीय तहका गरी ३८ वटा मोटरसाइकल प्रयोगविहीन अवस्थामा रहेका छन् ।
अभिलेखमा भएका चार वटा सवारी साधन र ३८ वटा मोटरसाइकलको लामो समय देखी नवीकरण भएको छैन जसले गर्दा लिलाम बिक्रीमा चुनौती थपिँदै गएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताउनुभयो ।
जिल्ला दूरसञ्चार कार्यालयको भवन अगाडी डोजर अलपत्र छ । १० वर्ष देखि डोजर रहेतापनी हालसम्म कुनै पनि कम्पनी वा व्यक्तिले डोजरको दाबी गर्न आएका छैनन् । बेवारिसे सवारी साधन व्यवस्थापनको लागि सङ्घीय सरकारले कानुन बनाउनु पर्ने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीको भनाई छ ।
राज्यले सवारी साधनको उचित व्यवस्थापन गरि राजस्व सङ्कलन तर्फ ध्यान दिनु पर्ने स्थानीयको माग छ । उनीहरूले राज्यको सम्पत्ति दुरुपयोग हुनबाट बचाउने र करको दायरामा ल्याउनुपर्ने रेसुङ्गा नगरपालिका १ का स्थानीय नारायण जिसीले बताउनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्