तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट

बाँके । जिल्लाको बिकट पालिकाको रुपमा चिनिने डुडुवा गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०८०–०८१ को कार्य सम्पादन मूल्याङ्कनका आधारमा डुडुवा गाउँपालिका जिल्लामा पहिलो बनेको हो ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा प्रथम डुडुवा गाउँपालिका, द्वितीय जानकी गाउँपालिका र तृतीय खजुरा गाउँपालिका भएको स्वास्थ्य कार्यालय जनस्वास्थ्य अधिकृत देवनाराण उपाध्यायले जानकारी दिनुभयो ।

उहाँका अनुसार उत्कृष्ट पालिकालाई वार्षिक समीक्षा कार्यक्रमको अवसरमा सम्मान गरी प्रशंसा पत्र प्रदान गरिएको छ ।
पालिकाले प्रदान गरेको समग्र स्वास्थ्य सेवा र तथ्याङ्कमा आधारित मूल्याङ्कनमा पालिका प्रथम भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हेमन्त शर्माले बताउनु भयो । खोप कार्यक्रम, संस्थागत सुत्केरी, क्षयरोग पहिचान दर र उपचार, परिवार नियोजन, स्वास्थ्य संस्थाको भौतिक अवस्था लगायतमा पालिकाले राम्रो गरेको उहाँको भनाइ छ ।

विभिन्न सूचकका आधारमा डुडुवालाई उत्कृष्ट घोषणा गरिएको हो । ७२ दशमलव ४२ स्कोरका साथ डुडुवा प्रथम स्थानमा आउन सफल भएको डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शर्माले जिकिर गर्नु भयो । नेपालगन्जमा भएको दुई दिने गोष्ठीको अवसरमा बुधबार पालिकाका स्वास्थ्य शाखा प्रमुख शर्मालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको थियो ।

यस्तै खजुरा गाउँपालिका तेस्रो, राप्तीसोनारी चौथो, कोहलपुर नगरपालिका पाँचौँ, नरैनापुर छैठों, बैजनाथ सातौं र नेपालगञ्ज आठौँमा स्थानमा सीमित बनेका छन् ।

समीक्षा कार्यक्रमको अवसरमा जिल्लामा उत्कृष्ट भएका स्वास्थ्य संस्थाहरूलाई प्रमाणपत्रले सम्मानित गरिएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button