राष्ट्रिय सभा बैठक: सांसदहरूको प्रश्नको मन्त्रीद्वारा उत्तर
चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको अभाव हुदैनः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने बताउनुभएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री भण्डारीले चाडपर्व लक्षित कार्ययोजना बनाई खाद्यान्न अभाव हुन नदिने, संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाइने तथा स्थानीय तहसँगको समन्वयमा स्थानीय उत्पादन खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
यसैगरी सांसदहरूको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय रणनीतिक सडकमा मर्मतको काम सुरु भएको, संभावित दुर्घटनाग्रस्त क्षेत्रहरूमा ट्रमा सेन्टर बनाउने र सडक यातायातलाई सुरक्षित र प्रभावकारी बनाइने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७९÷८० पेश गर्नुभयो ।
यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य माया प्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेश गर्नुभयो ।
राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचन भदौ ३१ गते सोमवार हुने जानकारी दिनुभयो ।
राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएको नेपाल विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नुभयो ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ ३० गते आइतबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्