तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा ९ वर्षीय बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि

बाँके। बाँकेको नरैनापुरका एक जना बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि भएको छ । नरैनापुर गाउँपालिका वडा न-१ मतहनिया गाउँकी ९ वर्षीया बालिकामा जापानीh इन्सेफलाइटिस पुष्टि भएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनुभयो ।

भदौ ८ गते टाउको दुख्ने, ज्वरो आउने लगायतको स्वास्थ्य समस्या देखिएपछि ती बालिकालाई स्थानीय मेडिकलमा उपचार गरिएको थियो । तर बालिकाको स्वास्थ्यमा सुधार नआएपछि दुई दिन पछि भदौ १० गते उहाँलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

जापानीज इन्सेफलाइटिससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ल्याब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको शाहले बताउनु भयो ।

भेरी अस्पतालको पेडियाट्रिक वार्डमा उपचारत उहाँको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका बालरोग विशेषज्ञ डा।प्रतिमा खड्काले जानकारी दिनु भयो । उहाँले भन्नुभयो,‘अहिले बालिकाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ’

ती बालिकालाई करिब एक हप्ता आइसियुमा राखेर उपचार गरिएको थियो । उहाँलाई आइतबार वार्डमा सारिएको हो । ‘अस्पताल ल्याउँदाको अवस्था भन्दा केही सुधार भएको छ उहाँले भन्नुभयो–‘एमआरआई वा सिटिस्क्यान गर्ने तयारीमा छौँ । त्यसपछि थप कुरा भन्न सकिन्छ ।’

ती बालिकालाई जापानीज इन्सेफलाइटिस विरुद्धको खोप लगाएको÷नलगाएको बारे थाहा हुन नसकेको संयोजक शाहले जानकारी दिनु भयो । जापानीज इन्सेफलाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइनु सक्नु पर्ने हुन्छ । तर स्वास्थ्य क्षेत्रको पहुँच भन्दा बाहिर जस्तै रहेको विकट यो ठाउँका अधिकांश मानिसहरूले खोप लगाए/नलगाएको बारे स्वयम स्वास्थ्यकर्मीहरू समेत जानकार छैनन् । उहाँले नौ वर्ष पहिला खोप लगाएको यकिन गर्न परिवार सँग कुरा गरिरहेको जिकिर गर्नु भयो ।

नरैनापुरमा केही दिन अघि मृत्यु भएका ५ जना व्यक्तिहरूमा पनि मृत्यु अघि उच्च ज्वरो, टाउको दुखाई, वान्ता र झाडापखालाको लक्षण चिन्ह देखिएको थियो । उनीहरूको मृत्युको ठोस कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । न त उनीहरूको कुनै जाँच गरियो । न त पोस्टमार्टम । केवल परिवारले दिएको विवरणका आधारमा झाडापखालाकै कारण मृत्यु भएको भनिएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

उस्तै चिन्ह लक्षण देखिएको ती बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि भएपछि भने स्वास्थ्यकर्मीहरुले उनीहरूको मृत्यु पनि झाडापखालाबाटै हो भन्ने अवस्थामा शङ्का उत्पन्न भएको बताएका छन् । ‘पानीको ल्याब परिक्षण गर्दा किटाणु रहित छ । हैजा पनि छैन संयोजक शाहले भन्नुभयो,–‘झाडापखालाका कारण तत्काल मृत्यु हुने अवस्था रहँदैन ।

जापानीज इन्सेफलाइटिसका केसहरू नदेखिरहेको अवस्थामा बाँकेको विकट नरैनापुरकी बालिकामा पुष्टि भएसँगै स्वास्थ्यकर्मीहरूको ध्यान खिचिएको छ । सुँगुर र चराहरूमा जापानीज इन्सेफलाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युसेक नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमण गराउने गरेको शाहले बताउनु भयो ।

यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने चिकित्सकहरू भनाई छ । जापानीज इन्सेफलाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जीउ काम्ने र वान्ता लागेको जस्तो लक्षण देखापर्ने भेरी अस्पताल नेपालगन्जका फिजिसियन पारस श्रेष्ठले बताउनु भयो ।

गम्भीर रुपमा असर पारेमा कोमा (बेहोस अवस्था) मा पुर्‍याउन सक्ने हुन्छ । जापानीज इन्सेफलाइटिसको निश्चित कुनै उपचार नभएको डा. श्रेष्ठले बताउनु भयो ।

जापानीज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाएर यो रोगको जोखिम कम गर्न सकिने चिकित्सकहरू बताउँछन् । यसका लागि खोपहरू पनि उपलब्ध छन्, जसले सङ्क्रमणको जोखिम कम गर्न वा संक्रमण भएमा गम्भीर रोगको जोखिमबाट जोगाउन मद्दत गर्न सक्छ । यस बाहेक लामो बाहुलाको सर्ट र प्यान्ट लगाउने, घर वरपर सरसफाइ गरी लामखुट्टेको प्रजनन् वृद्धि रोक्नुपर्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

संयोजक शाहले भन्नुभयो, एक जना बालिकामा जापानीज इन्सेफलाइटिस पुष्टि भए पछि गाँउमा स्वास्थ्यकर्मी परिचालन गरी बिरामीहरू खोजी अभियान सुरु गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button