तपाईँ सुन्दै हुनुहुन्छः

संविधानले महिलालाई प्रदान गरेका अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले प्रदान गरेका महिला हक अधिकारको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।
प्रथम महिला सविता पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना गर्नुभएको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच बिस्तारै विकास हुँदै गए पनि अधिकारको कार्यान्वयनमा अझै जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भन्नुभयो, “आज समाजमा धेरै परिवर्तन आइसकेको छ ।
महिलाको अवस्था अब पहिलोको जस्तो छैन भन्ने मलाई लाग्दछ । नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ, महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदैछ तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हक अधिकारको प्रभावकारी कार्यान्वयनका लागि भने अझै क्रियाशील हुनुपर्ने आवश्यकता छ ।
राष्ट्रपति पौडेलले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्री, महिला सांसद, विभिन्न ओहोदामा रहनुभएका उच्चपदस्थ महिला अधिकारीको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button