सुर्खेतमा कित्ताकाट हालसम्मकै उच्च
सुर्खेत । सुर्खेतमा जग्गाको कित्ताकाट गर्नेको प्रवृत्ति ह्वातै बढेको छ । अहिले सबैभन्दा बढी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरसँगै छिन्चु, मेहलकुना, बाबियाचौर क्षेत्रमा उच्च रुपमा कित्ताकाट भएको सरकारी तथ्याङ्क छ ।
नापी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार जिल्लाभरि एक वर्षमा ३ हजारभन्दा बढी घरजग्गाको कित्ताकाट हुने गरेको छ । सरकारले कित्ताकाटको क्षेत्रमा कडाइ गर्न नसक्दा कृषि क्षेत्रलगायत अन्य क्षेत्रको उच्च रुपमा कित्ताकाट हुँदै आएको हो ।
सरकारले खेतीयोग्य जग्गालाई प्लटिङ गरी बिक्री÷वितरणमा २०७४ मै रोक्ने निर्णय गरेको थियो । तर, कित्ताकाट रोक्ने निर्णय गरे पनि कित्ताकाट झनै बढेको सरकारी तथ्याङ्कले नै देखाएको हो । वार्षिक दुई हजारको हाराहारीमा जग्गा खण्डीकरण हुँदै आएकोमा यो वर्षको अन्त्य असार मसान्तसम्म हालसम्मकै उच्च कित्ताकाट भएको देखाउँछ ।
आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाभर २ हजार २ सय ८९ जग्गाको कित्ताकाट भएको थियो । सो जग्गाको कित्ताकाटबाट २८ लाख ५७ हजार १ सय ४ रुपैयाँ मात्र राजश्व प्राप्त भएको थियो । यस्तै गएको आर्थिक वर्ष २०८०/०८१ मा ३ हजार ९३ कित्ताकाट भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव १२ प्रतिशतले बढी कित्ताकाट हो । गएको आवमा नक्सा विक्री, फिल्ड रेखाकंन, कित्ता एकीकरण र फिल्ड बुक उतारबाट ३४ लाख ७२ हजार ४ सय ४५ रुपैयाँ राजश्व सङ्कलन भएको नापी कार्यालय सुर्खेतका निमित्त प्रमुख लालप्रसाद चपाईले जानकारी दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा समेत जग्गाको खण्डीकरण हुने बढ्दो क्रममा रहेको बताउनुभयो ।
कार्यालयको तथ्यांकअनुसार मासिक कम्तीमा २ सय ५० को हाराहारीमा कित्ताकाट भएको देखिन्छ । गएको आर्थिक वर्ष २०८०÷०८१ मा नक्सा विक्रीबाट २६ लाख ५१ हजार ९ सय ४६ रुपैयाँ भएको छ भने फिल्ड रेखाकंनबाट ३ लाख १७ हजार २ सय रुपैयाँ राजश्व सङ्कलन भएको छ । त्यस्तै कित्ता एकीकरणबाट ५ लाख १८ हजार र रुपैयाँ र फिल्ड बुक उतारबाट १ हजार ५ सय १० रुपैयाँ राजश्व सङ्कलन भएको निमित्त कार्यालय प्रमुख चपाईले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्