तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा भारी वर्षाका कारण १२ जनाको मृत्यु

नयाँदिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा भारी वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् ।

भारी वर्षाका कारण आन्ध्र प्रदेशमा नौ जना तथा तेलङ्गानामा तीन जनाको मृत्यु भएको हो ।

शनिबार आन्ध्र प्रदेशको विजयवाडा र गुन्टुर सहरका धेरैजसो भाग अत्यधिक वर्षाका कारण डुबानमा परेका थिए । बङ्गालको खाडीमा रहेको न्यून चापीय रेखाको प्रभावले आइतबार बिहानै कलिङपट्टनमको तटीय क्षेत्र पार गरी राज्यका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

विजयवाडाको मोगलराजपुरममा शनिबार पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुन्टुर जिल्लाको मङ्गलागिरीको गण्डलयपेटामा एउटा घरमा ढुङ्गा खसेर एक वृद्धाको मृत्यु भएको छ । अर्को घटनामा गुन्टुर सहर नजिकै उप्पलापाडु गाउँमा बाढीले कार बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार स्थानीय प्रहरी तथा विभिन्न निकायले तल्लो क्षेत्रका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । हालसम्म विभिन्न स्थानबाट करिब ८० जनाको उद्धार गरिएको छ । रासस /सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button