‘किसानका पक्षमा इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता बोकेको छु’
काठमाडौँ । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले आफूले किसानका पक्षमा इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता बोकेको बताउनुभएको छ ।
मुक्तिनाथ कृषि कम्पनीको छैटौँ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले गाउँमै फर्किएर कृषि कर्म गर्न अभिप्रेरित गर्ने कार्य गरेकोमा कम्पनीको प्रशंसा समेत गर्नुभयो ।
कृषि क्षेत्रमा वार्षिक बजेट बढाउन आवश्यक छ भन्नुहुँदै मन्त्री अधिकारीले कृषिको व्यवसायीकरणमा प्रविधि, पूर्वाधार, जनशक्ति तथा बजार प्रमुख भएकाले यस क्षेत्रमा व्यवस्थित र रणनीतिक लगानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सरकारले घोषणा गरेको कृषिमा लगानी दशकलाई सफल बनाउने दायित्व नीजि क्षेत्रको समेत भएको उल्लेख गर्दै मन्त्री अधिकारीले यसका लागि मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो ।
उहाँले स्थानीय तहबाट नै उत्पादन क्षेत्रहरूको घोषणा गर्ने, कृषिको रुपान्तरणको लागि प्रमुख बाली पूर्वाधारको छनौट गर्ने, कृषिमा लगानी दशक कार्यक्रम कार्यान्वयन कार्ययोजना तयार गर्ने र सोको कार्यान्वयनको लागि सार्वजनिक सहकारी र नीजि लगानी केन्द्रित गर्नु अपरिहार्य भएकाले यसको आवश्यक तयारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरिरहेको उल्लेख गर्नुभयो ।
नीजि स्तरबाट कृषिमा काम गर्ने कम्पनीहरूको भूमिका खास गरी कृषिको डिजिटलाइजेसन, कृषि उत्पादनको बजारीकरण, कृषि उपजको प्रशोधन, स्वदेशी उत्पादनलाई निर्यात गर्नेतर्फ केन्द्रित हुन आवश्यक रहेको मन्त्री अधिकारीले बताउनुभयो । उहाँले सरकार र किसान बीचको खाडललाई पुर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिँदै नीजि क्षेत्रको सहभागिता विना कृषिमा लगानी दशकले सार्थकता पाउन नसक्ने बताउनुभयो ।
मन्त्री अधिकारीले लगानी दशकले वर्तमान शासकीय संरचनाका तीन वटै तह, कृषक, सहकारीहरू, नीजि क्षेत्र, विकास साझेदारको लगानी कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित गर्ने अपेक्षा पनि व्यक्त गर्नुभयो । कृषिमा लगानी दशकको प्रस्थान विन्दुको रुपमा स्थानीय तह, प्रदेशका जिल्ला स्थित कृषि तथा पशुपन्छी क्षेत्र हेर्ने कार्यालयहरू, प्रदेश मन्त्रालय, सङ्घीय मन्त्रालय, कृषि अनुसन्धान परिषद् तथा कृषि उद्यम केन्द्र लगायतमा लगानीका क्षेत्रहरूको पहिचान सहजीकरणको लागि डेस्क स्थापना गरिने जानकारी पनि मन्त्री अधिकारीले दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्