तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षणको अभावमा ओझेलमा कमल पोखरी

विराटनगर । धार्मिक एवं पर्यटकीय स्थलको रुपमा चिनिने मोरङको सुनवर्सी नगरपालिका–१ मा रहेको कमल पोखरी संरक्षणको अभावमा ओझेलमा पर्न थालेको छ ।

आवश्यक बजेट तथा पूर्वाधार र प्रचार प्रसारको अभावमा पोखरी ओझेलमा परेको हो । पूर्व पश्चिम राजमार्गको पथरी बजारबाट १३ किलोमिटर दक्षिण शुक्रबारे केचना बजार क्षेत्रमा पर्ने पोखरीमा दुर्लभ सेतो कमलको फुल तथा विभिन्न प्रजातीको जलचर प्राणी र वनस्पति पाइन्छ ।

सयौँ वर्ष पुरानो तथा स्थानीय पर्यटकहरूको रोजाइमा पर्ने पोखरीको संरक्षण गर्नुपर्ने स्थानीय रत्नबहादुर श्रेष्ठ बताउनुहुन्छ । सरकारी जग्गा संरक्षणका लागि पनि पोखरीको घेराबार गर्नुपर्ने उहाँको भनाई छ ।

कोशी प्रदेश सरकारले पोखरीलाई थप व्यवस्थित गर्न गत आर्थिक वर्ष २७ लाख बजेट छुट्ट्याएको थियो । तर त्यो बजेट पर्याप्त नभएको र आगामी दिनमा गुरु योजना बनाएर यसलाई विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारीको भनाई छ ।

पोखरीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न ३, ४ करोड बजेट आवश्यक रहेको र त्यसका लागि आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले बजेट छुट्ट्याउने मन्त्री अधिकारीले बताउनुभयो ।

सात विघा क्षेत्रफलमा पानीको भाग रहेको पोखरीमा किराँत धर्मावलम्बीहरूले मुन्दुमदेखि चण्डी पूर्णिमाको दिन चण्डी तथा साकेला नाच गर्दै पूजाआजा गर्ने गर्दछन् ।

सुनवर्सी नगरपालिकाका प्रमुख श्याम प्रसाद राजवंशीले बाह्य तथा आन्तरिक पर्यटक भित्राउने गरी स्थानीय र प्रदेश सरकारको बजेटबाट पोखरी व्यवस्थित गर्न लागिएको बताउनुभयो ।

रंगेली र पथरी सडकको बिचमा पर्ने पोखरीमा मोरङ, झापा तथा सुनसरी जिल्लाबाट आन्तरिक पर्यटकहरू पोखरी हेर्न तथा सिजनमा पिकनिक खान आउने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button