तपाईँ सुन्दै हुनुहुन्छः

भीरमहकाे विश्वव्यापी रूपमा उच्च माग   

'मौरीको घारदेखी महको जारसम्मको यात्रा निकै चुनौतीपूर्ण '

काठमाडौँ । नेपालको दुर्गम पहाडी भेगमा खास गरी भीर वा पहराहरूमा पाईने विशेष प्रकारको मह, जसलाई स्थानीय स्तरमा “भीरमह” वा “जङ्गली मह” को नामले चिनिन्छ, हाल यसको माग विश्वव्यापी स्तरमा व्यापक रूपले  बढेको छ। अन्तर्राष्ट्रिय स्तरमा यस महलाई अङ्ग्रेजीमा  “Mad Honey” वा “Medicinal Mad Honey”  भनेर पनि चिनिन्छ, जसको नेपालीमा शाब्दिक अनुवाद “पागल मह” भनेर कतिपय नेपाली मिडियाहरूले उल्लेख गर्नुभएका छन् । अरू महहरूको भन्दा फरक स्वाद रहेको, स्वास्थ्यबर्द्धक र यसमा औषधीय गुण हुनुको साथै यस महको जोखिमपूर्ण तथा सहासिक तवरले गरिने सङ्कलन प्रक्रियाको कारणले यो मह विश्वभर दिनानुदिन प्रसिद्ध हुँदै गएको छ। तर मौरीको घारबाट महको जारसम्मको यात्रा निकै चुनौतीपूर्ण रहेको यस महको दिगोपना अहिलेको चिन्ताको विषयको रूपमा पनि उठेको छ। 

भीरमह के हो ?

भीर मह एक दुर्लभ र शक्तिशाली प्रकारको मह हो, जुन पहाडी भेगमा पाइने संसारकै सबभन्दा ठूलो मौरी, जसलाई अङ्ग्रेजीमा “Apis laboriosa र नेपालीमा “भीर मौरी” को नामले चिनिन्छ, तिनले उत्पादन गर्छन्। यी मौरीहरूले लालीगुराँसका फूलहरूबाट मह उत्पादन गर्दछन्, जसमा ग्रयानोटोक्सिन नामक प्राकृतिक रस पाइन्छ। यस कारणले गर्दा यो मह विशिष्ट र विशेष हुन्छ। थोरै मात्रामा सेवन गर्दा यो महले शरीरमा उत्साह थप्छ भने धेरै मात्रामा सेवन गर्दा मात लाग्न सक्छ। यसैले यो महलाई अङ्ग्रेजीमा “Mad Honey” अर्थात् नेपालीमा “पागल मह” भनिन्छ।

तर निश्चित मात्रामा यसको सेवन गर्दा रक्तसञ्चारमा सुधार, फुर्तीमा वृद्धि, र रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने भएकाले यस महलाई स्वास्थ्यवर्धक र प्राकृतिक औषधीको रूपमा लिने चलन रहेको छ।

यसको माग किन छ ?

नेपालको दुर्गम पहाडी तथा हिमाली भेगमा पाईने यस महको फरक स्वाद, स्वास्थ्यबर्द्धक र औषधीय गुणले यसलाई विश्वभरमा लोकप्रिय बनाएको छ। यसको दुर्लभता र यसलाई काढ्ने जोखिमपूर्ण प्रक्रियाले यसको आकर्षण झन बढाएको छ। परिणामस्वरूप, पछिल्ला वर्षहरूमा यसको माग आकासिएको छ र यसले एउटा आकर्षक बजारको निर्माण गरेको छ। यो मह स्वास्थ्यप्रद र प्राकृतिक औषधीको रूपमा विश्वभरि प्रयोग गरिन्छ, जसले गर्दा यसको निर्यात पनि बढेको छ। 

यो कहाँ कहाँ पाइन्छ ?

भीर मह नेपालका लमजुङ, म्याग्दी, बागलुङ, जुम्ला, जाजरकोट, स्याङ्जा, गोरखा, दोलखा, धादिङ, र सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा पाइन्छ। यी ठाउँहरूमा मह शिकार गरेर सङ्कलन गरिएको मह स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिन्छ।

यसलाई कहिले सङ्कलन गरिन्छ ?

भीर मह सङ्कलन गर्ने उपयुक्त समय भौगोलिक क्षेत्र र उचाइ अनुसार फरक भए तापनि सामान्यतया भीर मौरीको मह वर्षमा दुई पटक काढिन्छ। पहिलो पटक चैत्र, वैशाख, र जेठ महिनासम्म भने दोस्रो पटक असोज, कार्तिक, र मङ्सिर महिनासम्म मह काढ्ने गरिन्छ।

जेठ महिनामा काढिने मह विषाक्तसमेत हुन सक्छ। उक्त महले केही मानिसलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ। लालीगुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्ने गर्दछ। तर मङ्सिर महिनामा काढिने मह भने पोसिलो र स्वास्थ्यवर्धक हुन्छ। 

यसलाई कसरी सङ्कलन गरिन्छ ?

भीर महको सङ्कलन प्रक्रिया, जसलाई मह शिकार पनि भनिन्छ, अत्यन्तै जोखिमयुक्त हुन्छ। निगालोको चोयाबाट बनाइएको डोरीमा काठ राखेर बनाइएको भर्‍याङमा तुर्लुङ्ग भुण्डिएर मह सिकारीहरूले मह काट्ने गरेका छन्। पहाडको काप अर्थात् पानीले नभिज्ने र हावाहुरीले कम असर गर्ने ठाउँमा हुने भीर मौरीको चाकाबाट मह निकाल्ने काम निकै जोखिमपूर्ण छ।

फेदीमा बसेका र भीरको शिरमा बसेका सहयोगीहरूले चोयाकै डोरीको सहायताले फेदीबाट आगोको मुस्लो सिकारीसम्म पुर्‍याउने गर्छन्। शिकारीले आगोको मुस्लोलाई मौरीको चाका नजिक पुराउँछन्। आगोको धुवाँले मौरीलाई भगाउने र लट्ठ्याउने काम गरिन्छ। धुँवा लगाएपछि लट्ठिएर मौरीले टोक्न नसक्ने भएपछि शिकारीले मह काढ्न शुरु गर्छन्।

परम्परागत उपकरणहरू र मौरीको व्यवहारसम्बन्धी ज्ञान तथा बुझाइ प्रयोग गरी उनीहरूले महको चाका सावधानीपूर्वक निकाल्छन् र खतरनाक टोकाइबाट बच्ने प्रयास गर्छन्। तल बसेर हेर्दा त्रास लाग्ने यो दृश्यले देख्नेको मुटुको धड्कन बढ्छ। यो प्रक्रिया वैज्ञानिक जत्तिकै कलात्मक पनि छ र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्पराको रूपमा लिने गरिएको पाइन्छ।

यसले स्थानीयहरूलाई कसरी लाभ पुर्‍याइरहेको छ ?

भीर महले स्थानीय बासिन्दाको आयआर्जनमा महत्त्वपूर्ण भूमिका खेलेको छ। मह शिकार गरेर सङ्कलन गरिएको मह प्रशोधन वा प्याकेजिङ्ग गरेर स्थानीय, राष्ट्रिय, तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गरिन्छ। मह बिक्रीबाट गाउँलेहरूले निकै राम्रो आम्दानी गरिरहेका छन्। यसले स्थानीय स्तरमा रोजगारीको सृजना गर्नुको साथै आर्थिक वृद्धि समेतमा मद्दत पुर्याएको छ। यस महको बिक्रीबाट बर्सेनि करोडौँ रुपैयाँसम्मको रकम नेपाल भित्रिने गरेको छ।

लमजुङस्थित “हिमालय बी कनसर्न” नामक कम्पनीले यस्तो महको सङ्कलन, व्यवस्थापन, र बजारीकरणको लागि स्थानीय सरकार, वन कार्यालय, कृषि कार्यालय, स्थानीय मह शिकारी र तिनीहरूको समुदायलगायत सम्बन्धित सरोकारवालाहरूको सहकार्य गरिरहेको छ। यस कम्पनीले मह सिकारका लागि चाहिने पोशाक र अन्य सुरक्षाका औजार तथा सामग्रीहरू उपलब्ध गराउँदै आइरहेको कुरा कम्पनीका सञ्चालक सुनिल कँडेलले बताउनुभयो । हिमालय बी कनसर्नजस्ता संस्थाहरूको सहकार्यले यो प्रक्रिया थप व्यवस्थित र सुरक्षित बनेको छ, जसले दीर्घकालीन रूपमा स्थानीयहरूको जीवनस्तर उकास्न मद्दत पुर्याएको छ।

यसका चुनौतीहरू र अवसरहरू के छन् ? 

अत्यधिक सङ्कलन, बासस्थानको विनाश, र जलवायु परिवर्तनले मौरीहरूलाई गम्भीर जोखिम पुर्‍याइरहेका छन्। दिगोपनाको अभ्यासहरू अपनाउन आवश्यक छ ताकि भविष्यका पुस्ताहरूका लागि यो स्रोत सुरक्षित रहोस्। यसका लागि स्थानीय समुदाय-नेतृत्व भएका पहलहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्। निष्कर्षमा, नेपालमा विशाल सम्भावना बोकेको भीर मह उद्योगलाई आर्थिक लाभसँगै वातावरणीय संरक्षणमा ध्यान दिनुपर्ने कुरा उत्तिकै आवश्यक छ।

Photo: Medicinal Mad Honey

प्रतिक्रिया राख्नुहोस्

Back to top button