कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तावित ११ विषयमाथि धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठकमा पनि बैठकमा प्रस्तुत विभिन्न ११ वटा प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रह्यो ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा साउन २३ गतेदेखि प्रारम्भ भएको बैठकमा प्रस्तुत ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।
यस्तै पार्टी केन्द्रीय कार्यसमितिको आजको बैठकले नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जन्म जयन्तीका अवसरमा उहाँप्रति उच्च सम्मानका साथ श्रदासुमन अर्पण गरेको छ ।
सङ्क्रमणकालीन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उहाँले निर्वाह गर्नु भएको भूमिका अतुलनीय र अविस्मरणीय रहेको छ ।
राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म वि.सं. १९९६ श्रावण २८ गते भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने क्रम जारी रहेकाले केन्द्रीय समितिको अर्को बैठक भदौ ७ गते शुक्रबार बिहान ११ बजे पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्