तपाईँ सुन्दै हुनुहुन्छः

पूर्वी पहाडमा अलैँची पुनः रोपण अभियान,किसान उत्साहित

झापा । नेपालको प्रमुख नगदे कृषि बाली अलैँची उत्पादन हुने पूर्वी पहाडी जिल्लामा अलैँची पुनः रोपण अभियान सुरु गरिएको छ ।

विभिन्न खाले रोग, प्रकोप र वर्षौं पुराना बोट भएका कारण अलैँची खेती मासिँदै जाँदा किसानहरू निराश भइरहेका बेला पूर्वी पहाडी जिल्ला इलामबाट नयाँ प्रविधिमा आधारित अलैँची पुनः रोपण अभियान सुरु गरिएको हो । कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयको आर्थिक तथा अलैँची विकास केन्द्र फिक्कलको प्राविधिक सहयोगमा नेपाल अलैँची व्यवसायी महासङ्घले अभियानको संयोजन गरेको छ ।

बिहीबार इलामको रोङ गाउँपालिका र शुक्रबार देउमाई नगरपालिकामा अलैँची विकास केन्द्रले टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेको स्वस्थ नयाँ बिरुवा रोपण गरेर अभियान सुरु गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिनुभयो ।  उहाँले इलाम अलैँचीको उद्गम जिल्ला भएको र विभिन्न रोगका कारण यसै जिल्लाबाट अलैँची मासिन थालेकोले पनि अलैँची पुनः रोपण अभियान यसै जिल्लाबाट सुरु गरिएको बताउनुभयो ।

प्रदेश तथा स्थानीय सरकार, व्यवसायी, किसान तथा प्राविधिक क्षेत्रसमेत सबै सरोकारवालाको सहभागितामा यो अभियान सुरु भएकोले यसबाट प्रतिफल प्राप्त हुने विश्वास रहेको बताइएको छ । बिहीबार रोङ गाउँपालिकाको वडा नं ४ किटेनीस्थित सुम्निमा नर्सरी उद्योगमा नर्सरी बिरुवा रोपण गरेर र शनिबार देउमाई नगरपालिका ६ मा स्थानीय सुरज बस्नेतको खेतमा उत्पादनयोग्य बिरुवा रोपण गरेर अभियान शुभारम्भ गरिएको थियो । त्यहाँ संक्षिप्त औपचारिक कार्यक्रम आयोजना गरिएको थियो भने स्थानीय किसानहरूका समस्या र गुनासाहरू पनि सङ्कलन गरिएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताउनुभयो  ।

कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहाल, रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया खवास, देउमाई नगरपालिका, वडा नं ६ का वडाध्यक्ष सुरेन बस्नेत, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य दीपक नेपाल, नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराई, अलैँची विकास केन्द्रका प्रमुख राजन परियारलगायतले संयुक्त रुपमा बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको थियो ।

अलैँची विकास केन्द्रका प्रमुख परियारले टिस्यु कल्चर प्रविधिबाट अत्यन्त सुरक्षित ल्याबमा तयार गरिएकोले यी बिरुवा रोगमुक्त र बढी आम्दानी दिने किसिमको रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार केन्द्रले अहिले तयार गरेको बिरुवाले आगामी ४०–५० वर्षसम्म आम्दानी लिन सकिनेछ । तर, किसानले रोपण प्रविधि, मल–सिँचाइ र सरसफाइमा विशेष ध्यान पुराउनुपर्ने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव डा. दाहालले विभिन्न कारणले मासिन लागेको अलैँचीले पुनः रोपण अभियानमार्फत पुनर्जीवन प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  कोशी प्रदेशको आयको प्रमुख स्रोत पनि भएको अलैँचीको उत्पादन वृद्धि, मूल्य वृद्धि र सहज बजारीकरणका लागि मन्त्रालयको तर्फबाट गर्नुपर्ने सबै काम गरिने पनि बताउनुभयो । 

महासङ्घका अध्यक्ष भट्टराईले महासङ्घ किसानसँग प्रत्यक्ष जोडिएको सङ्गठन भएकोले यसले किसानलक्षित कार्यक्रमहरूलाई जोड दिइरहेको बताउँदै  इलामबाट सुरु भएको यो अभियानले सुखद परिणाम दिएमा पूर्वदेखि–पश्चिमसम्मका अलैँची उत्पादन हुने जिल्लासम्म अभियान विस्तार गरिने जानकारी दिनुभयो ।

यसैबीच यो अभियानप्रति किसानहरुले पनि खुशी व्यक्त गरेका छन् । रोङ गाउँपालिकाका किसान सोमराज लेप्चाले अलैँची मासिएर निराश बनेका किसानमा रोगमुक्त बिरुवा रोपणको यो अभियानले उत्साह जगाइदिएको बताउनुभयो । यसैगरी, देउमाइृका किसान धनसिंह राउतले पहिलो चोटि सरोकारवालाहरू एकैसाथ किसानको बारीमा पुगेको देखेको बताउँदै यसले किसानमा उत्साह थपेको बताउनुभयो । 

नेपालमा एक लाख किसान अलैँची खेती तथा व्यवसायमा आबद्ध रहेका छन् । कूल १९ हजार हेक्टरमा उत्पादन हुने अलैँचीबाट वार्षिक ७ देखि ८ अरब रुपैयाँ नेपाल भित्रिने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button