स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने तयारी : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको तत्कालीन तथा दीर्घकालीन समस्या समाधानका लागि कार्यक्रम ल्याउने बताउनुभयो ।
राष्ट्रिय सभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा वर्षायाममा डेँगु, हैजा लगायत सरुवा रोगको सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही समस्या र भावी योजना सम्बन्धमा जानकारी गराउनुहुँदै स्वास्थ्य मन्त्री पौडेलले देशभर हालसम्म २ हजार ४ सय जनामा डेंगू संक्रमण भएको र एक सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री पौडेलले डेँगु, हैजा सङ्क्रमणको उच्च जोखिम आगामी भदौ र असोज महिनासम्म रहेको भन्नुहुँदै सावधानी र सचेतता विस्तारमा सम्बन्धित सबैले भूमिका निर्वाह गर्न आग्रह समेत गर्नुभयो ।
बैठकमा मन्त्री पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन र संक्रमण तथा रोग निदान गर्न कानुनी समस्याहरू सबल बनाउन जरुरी रहेको बताउनुभयो ।
बैठकमा सांसदहरुले स्वास्थ्य र सुरक्षित खानेपानी, खाद्यान्नका उपभोगका लागि सरकारले सबै तहका सरकारमार्फत व्यवस्थित र प्रभावकारी कदम चाल्न सुझाव राख्नुभयो ।
सांसदहरुले दूषित खानेपानी कारण हुने संक्रमण नियन्त्रणका लागि पूर्वतयारी र प्रभावकारी रणनीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले सर्वसुलभ स्वास्थ्य उपचार, जनशक्ति व्यवस्थापन, उपकरण खरिदमा हुने अनियमितता जस्ता समस्याहरूको अनुगमन तथा समस्या समाधानका कदम चाल्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्