तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिममा ७ महिनामा ६२० जनामा स्क्रब टाइफस र २२९ जनामा डेंगी देखियो

जनसङ्ख्या र भूगोलका हिसाबले कैलाली दुवैको जोखिममा

टीकापुर/कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिनामा ६२० जनामा स्क्रब टाइफस भएको पुष्टि भएको छ । प्रदेशका ९ ओटै जिल्लामा गएको पुस १६ गतेदेखि यही साउन १६ गतेसम्म ६२० स्क्रब टाइफसका बिरामी फेला परेका हुन् । 

अहिलेसम्मको तथ्याङ्क हेर्दा डडेल्धुरामा सबै भन्दा बढी २१५ र कञ्चनपुरमा सबै भन्दा कम १२ जना स्क्रब टाइफसका बिरामी फेला परेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । 

सोही अवधिमा सुदूरपश्चिममा २२९ जनामा डेंगी संक्रमण देखिएको छ । सुदूरपश्चिमका ९ ओटा जिल्ला मध्ये डोटीमा सबै भन्दा बढी ५३ जना र सबै भन्दा कम बझाङ र बैतडीमा ४/४ जनामा डेंगी संक्रमण देखिएको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार कैलालीमा भने ७ महिनामा ४७ जनामा डेंगी र ४४ जनामा स्क्रब टाइफस देखिएको छ । जनसङ्ख्या र भूगोलका हिसाबले कैलाली जिल्ला डेंगी र स्क्रब टाइफस दुवैको जोखिममा रहेको र त्यही अनुसार नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । 

डेंगी नियन्त्रण तथा रोकथामका लागि  लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी रहेको र स्क्रब टाइफसबाट बच्नका लागि पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका डेंगी फोकल पर्सन मिनबहादुर धामीले जानकारी दिनुभयो । 

यति वेला डेंगु र स्क्रब टाइफसको संक्रमण फैलिने समय भएकाले यसको नियन्त्रणमा जुट्न कैलालीका १३ ओटै स्थानीय तहलाई पत्राचार गरेको र नागरिकले पनि यस विषयमा सतर्कता अपनाउनु पर्ने फोकल पर्सन धामीको भनाई छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button