कृषिमन्त्री अधिकारीसँग आइफाड निर्देशकको शिष्टाचार भेट, कृषि लगानी दशकमा सहयोग गर्न आग्रह

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) का एसिया तथा प्रशान्त क्षेत्रका निर्देशक रिहाना राजाले भेटवार्ता गर्नुभएको छ ।
निर्देशक रिहाना राजा र कोषका प्रतिनिधिलाई मन्त्रालयमा स्वागत गर्नुहुँदै मन्त्री अधिकारीले नेपालको कृषि क्षेत्रमा आइफाडले गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्नुभयो । नेपाल र आइफाडबीचको सम्बन्ध पुरानो र गहिरो रहेको उल्लेख गर्नुहुँदै उहाँले यो सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
आइफाडको सहयोगमा कृषि मन्त्रालयअन्र्तगत हाल कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपि) सञ्चालनमा रहेको छ भने कोषले कृषि विकास रणनीति परिमार्जनको लागि पनि सहयोग गरेको भन्नुहुँदै मन्त्री अधिकारीले यी र यसभन्दा अगाडि सञ्चालन भएका आयोजना र सहयोगले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पु¥याएको चर्चा गर्नुभयो ।

उहाँले भन्नुभयो, “सरकारले यस आर्थिक वर्षदेखि कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको छ । उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने लक्ष्यमा आइफाडबाट आवश्यक सहयोग प्राप्त हुनेछ भन्ने विश्वास छ ।”
भेटमा आइफाडका निर्देशक रिहाना राजाले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्