तपाईँ सुन्दै हुनुहुन्छः

उखु किसानको रोकिएको भुक्तानी प्रक्रिया अगाडी बढ्छ : मन्त्री अधिकारी

वीरगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले बारा, पर्सा, रौतहट, सर्लाहीका उखु किसानहरूको रोकिएको भुक्तानी प्रक्रिया सरकारले छिट्टै अगाडी बढाउने बताउनुभएको छ ।

नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवको नेतृत्वमा उखु उत्पादन संघका अध्यक्ष वीरेन्द्र कुशवाहा सहितको टोलीसँग आज बाराको सिमरामा आयोजित छलफलमा मन्त्री अधिकारीले आफू पनि किसानको छोरा भएको हुँदा किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउनुभयो ।

उहाँले कृषि क्षेत्रको विकासबाट मात्रै मुलुकले समृद्धि हासिल गर्ने हुँदा सरकार सदैव किसानको पक्षमा रहेको र मल, बीउ, कृषि औजार, सिँचाइ लगायतका क्षेत्रमा किसानलाई सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

कांग्रेस नेता एवं उखु किसानहरुले छलफलको क्रममा सरकारबाट पाउनुपर्ने अनुदान बापतको रकम उपलब्ध नभएको भन्दै मन्त्री अधिकारीसँग तत्काल भुक्तानी प्रक्रिया अगाडी बढाउन माग गर्नुभएको थियो ।

छलफल कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य निरु रायमाझी, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश अनाल, कांग्रेस नेता कृष्णव्रत सिंह, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर २ का सभापति रामप्रवेश यादव, क्षेत्र नं ४ का सभापति सुनिल गुप्ता, क्षेत्र नं ३ का पूर्व सभापति मुकेश कुशवाहा, क्षेत्र नं ४ ख का सभापति लोकेश सिंह, नजिर अंसारी, तरुण दल का केन्द्रीय सदस्य आशिष तामाङ्ग, बारा तरुण दल का अध्यक्ष दिपेन्द्र पटेल, छविलाल शर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button