धनगढी वितरण केन्द्रको बक्यौता रु २१ करोड पुग्यो
अत्तरिया (कैलाली)। नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम रु २१ करोड ७३ लाख ७९ हजार पुगेको छ । गत आर्थिक वर्षमा वितरण केन्द्रको औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापतको उक्त बक्यौता रकम पुगेको हो ।
आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा बक्यौता रकम रु एक करोड ६० लाख ५२ हजारले बढेको वितरण केन्द्रका लेखा प्रमुख विनोद ढकालले जानकारी दिनुभयो । आव २०७९/८० मा बक्यौता रकम रु २० करोड १३ लाख २७ हजार थियो । ढकालका अनुसार गत आवमा औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ७८ लाख सात हजार तीन सय ७२, घरायसी ग्राहकको रु चार करोड ४४ लाख ७६ हजार चार सय ७६, सडक बत्तीको रु ११ करोड ३४ लाख १८ हजार तीन सय ८३ र अन्य ग्राहक रु तीन करोड १६ लाख ७६ हजार आठ सय तीन सङ्कलन गरिएको हो ।
गत आवमा महसुल नतिर्ने एक हजार नौ सय ६२ ग्राहकको लाइन काटिएको लेखा प्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार लाइन काटिएका ग्राहकको महसुल तिर्न बाँकी रकम रु पाँच करोड ५० लाख ८६ हजार चार सय १८ रहेकामा रु चार करोड ३३ लाख ५६ हजार पाँच सय असुली भएको छ ।
लेखा प्रमुख ढकालका अनुसार आव २०७९÷८० मा केन्द्रको औद्योगिक ग्राहकको बक्यौता रकम रु दुई करोड ४१ लाख ४२ हजार आठ सय ९१, घरायसी ग्राहकको रु पाँच करोड ७९ लाख २८ हजार तीन सय ६९, सडक बत्तीको रु १० करोड ५० लाख ३३ हजार तीन सय ७३ र अन्य ग्राहकको रु एक करोड ४२ लाख २२ हजार तीन सय ६७ थियो ।
“अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा केही बक्यौता रकम बढेको छ । वितरण केन्द्रले लामो समय महसुल नबुझाउने ग्राहकको लाइन काटेर रकम असुली पनि गरेको छ”, लेखा प्रमुख ढकालले भन्नुभयो, “अन्य ग्राहकबाट रकम नियमित भुक्तानी भइरहेका छ । सडक बत्तीको बक्यौता रकम बढी छ ।” वितरण केन्द्रका अनुसार नियमित महसुल भुक्तानी गर्ने ग्राहक ६५ दशमलव दुई प्रतिशत छन् ।रासस








प्रतिक्रिया राख्नुहोस्