तपाईँ सुन्दै हुनुहुन्छः

संसद् भवन निर्माण समयमै पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माणाधीन संसद् भवन नौ महिनाभित्र पूरा गर्न निर्देशन दिनुभएको छ । सिंहदरबारमा निर्माणाधीन संसद् भवनको आज निरीक्षणपछि उहाँले कामको गति सुस्त भएको उल्लेख गर्दै समयमै काम सक्न निर्देशन दिनुभयो ।

“सिफ्ट बढाएर भए पनि तोकिएको समयमा भवन निर्माण सम्पन्न गर्नुपर्‍यो । केही अप्ठ्यारा छन् भने मन्त्रालय सहजीकरण गर्न तयार छ । समयमा सबै काम सकियोस् । आउँदो हिउँदे अधिवेशन यही भवनमा गर्ने गरी तत्परताका साथ काम गर्नुहोस्”, उहाँले भन्नुभयो । तोकिएको समयावधिमा काम सम्पन्न नहुने गुनासो सुनिएपछि निरीक्षणका लागि आएको बताउँदै उपप्रधानमन्त्री सिंहले कामलाई तीव्रता दिन निर्देशन दिनुभयो ।

त्यस अवसरमा मन्त्रालयका सचिव मणिराम गेलालले कम्तीमा दुई सिफ्टमा काम गर्न ठेकदार कम्पनीलाई निर्देशन दिइए पनि हाल एक सिफ्टमा मात्रै काम भइरहेको बताउनुभयो । “प्रतिदिन सात सय जनाले काम गर्नुपर्नेमा एकदेखि डेढ सयले काम गरेपछि अब त्यसलाई पूर्ति गर्न कामदार बढाउनुको विकल्प छैन । ठेकेदारसँग भवन निर्माण समयमै सम्पन्न गर्न छलफल गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

सिंहदरबार परिसरमा सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालय समेत रहने गरी १२ वटा ब्लकसहितको भवन निर्माण भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button