तपाईँ सुन्दै हुनुहुन्छः

बाघलाई अर्थतन्त्रसँग जोड्नुपर्ने 

बाँके । आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

पाटे बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने गरिन्छ । बाघलाई अब अर्थतन्त्रसँग जोड्नु पर्ने बाघ र वन्यजन्तु बिना मानिसको जीवन असम्भव रहेको  हुँदा  मानव र वन्यजन्तु बिचको सह अस्तित्व कायम राख्नुपर्ने  संरक्षणकर्मी र सरोकारवाला निकायहरूले बताएका छन् ।

विश्व बाघ दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जद्वारा सोमबार कोहलपुरमा  आयोजित  कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले  जङ्गल जल र जमिनको स्वस्थ पारिस्थितिकीय प्रणाली तथा  समृद्धिका लागि  बाघ र अन्य वन्यजन्तुको संरक्षण  अति नै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

देशकै सबैभन्दा कान्छो राष्ट्रिय निकुञ्ज  बाँके राष्ट्रिय निकुञ्ज बिस्तारसँगै बाघको सङ्ख्या  वृद्धि  हुँदै जाँदा  निकुञ्ज मध्यवर्ती क्षेत्रमा  बाघ र अन्य वन्यजन्तुको कारण  स्थानीय बासिन्दालाई क्षति पुग्ने गरेको कारण  बाघ र वन्यजन्तुको लागि उचित र सुरक्षित बासस्थानको प्रावधान मिलाई मानव प्राणी र वन्यजन्तु  बिचको सह अस्तित्व  जोगाउनु पर्ने उपप्रमुख सुवेदीले बताउनुभयो । उहाँले बाघले हुने नोक्सानी भन्दा पनि बाघ संरक्षण गर्दा हुने फाइदा र लाभको बारेमा जानकार गराउन सके र वन्यजन्तुको आक्रमणबाट स्थानीयलाई जोगाउन संरक्षणकर्मीहरूले  ठोस योजना ल्याउनु पर्ने भनाई व्यक्त गर्नुभयो ।

यस्तै  बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ  संरक्षण अधिकृत मनोज कुमार शाहले बाँके राष्ट्रिय निकुञ्जमा सन्  २०१० मा ४ वटा पाटे बाघ भएकोमा अहिले २५ वटा पुर्‍याउन सफल भएको र आगामी दिनमा बाघको सङ्ख्या अझै वृद्धि हुने क्रम जारी रहेको बताउनुभयो । उहाँले बाघको सङ्ख्या  वृद्धि भएसँगै थप चुनौती थपिएको र बाघको सङ्ख्यासँगै मानवीय क्षति पनि धेरै भइरहेको हुँदा  संरक्षणमा अझ बढी चुनौती थपिएको बताउनुभयो।

बाघलाई अब स्थानीय अर्थतन्त्रसँग  जोड्नु पर्ने  र एक पटक भएपनि जीवनमा बाघलाई प्रत्यक्ष  हेर्नकै लागि भएपनि निकुञ्जमा घुम्न आउने वातावरण मिलाउने व्यवस्था आफूहरूले गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा तराई भू-परिधि कार्यक्रमका कार्यक्रम प्रबन्धक लक्ष्मण प्रसाद पौडेलले बाघ दिवस किन मनाइन्छ र यसको संरक्षण किन आवश्यक छ भन्नेबारे प्रष्ट पार्नु भएको थियो । बाँके राष्ट्रिय निकुञ्ज सेक्टर कार्यालय कोहलपुरमा वृक्षारोपण गरेर उद्घाटन गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक परम्परा झल्कने झाँकी नृत्य सहित कोहलपुर क्षेत्र आसपासका विद्यालयका विद्यार्थी शिक्षकहरू सामुदायिक वनका सदस्य र विभिन्न सरोकारवाला निकायका व्यक्तिहरू बाघ संरक्षण सम्बन्धि  नारा लेखिएका प्ले कार्डहरू सहित र्यालिमा सहभागी भएका थिए। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button