तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा एमालेमा प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले थापासँगै नेकपा एकीकृत समाजवादीका खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाई स्वागत गर्नुभयो । कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताउनुभयो ।

उहाँले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्‍याउनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले छ/छ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने भएकाले राजनीतिक ध्रुवीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो ।

महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिनुभयो ।

पार्टी प्रवेशबारे सङ्क्षिप्त भनाइ राख्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विना शर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । थापाले सात बर्ष अघिसम्म नेकपा (एमाले)मै रहेर काम गरेको स्मरण गर्दै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताउनुभयो ।

नेकपा (एमाले) उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशनयता उदयपुरमा विभिन्न दलका २७२ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य मञ्जु चौधरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button