तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश : सवारी दुर्घटनाबाट एक वर्षमा १७२ जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परी एक वर्षमा १७२ जनाको मृत्यु भएको छ । २६७ जना गम्भीर र २६९ जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा १३७ पुरुष, २३ महिला र १२ जना बालबालिका रहेका सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

एक वर्षमा सडक दुर्घटनामा परी १९७ जना पुरुष, ४१ जना महिला र २९ जना बालबालिका गम्भीर घाइते भएका छन् भने १९६ पुरुष, ५० महिला र २३ बालबालिका सामान्य घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार गएको आर्थिक वर्ष २०८०/०८१ मा ४०७ सवारी दुर्घटना भएका छन् । जसमा सबै भन्दा बढी २०७ मोटरसाइकल र सबै भन्दा कम डोजर, लोडर र एक्स्काभेटर ३ ओटा दुर्घटना भएका छन् ।

सडक दुर्घटनामा परी १३ पशुचौपायाको मृत्यु भएको छ भने १४ पशुचौपाया घाइते भएका छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा सुदूरपश्चिम सवारी दुर्घटनामा परी १७७ जनाको मृत्यु भएको थियो भने १९७ जना गम्भीर र २७६ जना सामान्य घाइते भएको थिए । उक्त समयमा ३२० सवारी दुर्घटना भएका थिए ।

अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा ८७ ओटा सवारी दुर्घटना बढी भएका छन्, भने मृत्यु हुनेको सङ्ख्या घटेको देखिन्छ ।

यसैगरी गएको आर्थिक वर्षमा सवारी कारबाहीबाट सुदूरपश्चिम प्रदेशमा ४ करोड ८९ लाख ८७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । ७३ हजार ४७९ सवारी कारबाहीमा पर्दा उक्त राजश्व सङ्कलन भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९०८० मा भने १ लाख, १२ हजार ६५५ सवारी कारबाहीमा पर्दा ६ करोड, ४३ लाख, ७२ हजार रुपैयाँ सङ्कलन भएको छ । अघिल्लो वर्षको तुलनामा गएको आर्थिक वर्षमा सवारी कारबाही कम हुँदा राजश्व सङ्कलन पनि कम भएको सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button