तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा छ महिनामा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटना

धनकुटा । धनकुटामा गत छ महिनाको अवधिमा ५६ वटा मानव अधिकार उल्लङ्घनका घटनाहरू भएको पाइएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) धनकुटाले आज नेपाल मानवअधिकार वर्ष पुस्तकका लागि ६ महिनामा सङ्कलन गरेर आयोजना गरेको अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

कार्यक्रममा इन्सेकले जनवरीदेखि हालसम्मको अवधिमा मानव अधिकारसँग सम्बन्धित विभिन्न घटनाहरू प्रस्तुत गरेको थियो । जसमा एक जनाको हत्या, दुई जनाको हत्याको प्रयास, तीन महिला र पाँच जना बालबालिका बलात्कृत, एक महिलाको बलात्कृत पछि हत्या, दुई बालबालिका माथि यौन दुर्व्यवहार, एक जनामा जातीय विभेद, दुई जना आत्महत्या दुरुत्साहन र ३९ जना घरेलु हिंसामा पीडित भएको तथ्याङ्क सङ्कलन गरिएको इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाले जानकारी दिनुभयो ।

त्यस्तै, यस अर्धवार्षिक घटनाको तथ्याङ्क हेर्दा गत वर्षभन्दा यो वर्ष अझै मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि हुने देखिएको थापाले बताउनुभयो ।

सन् २०२३ मा धनकुटामा एक सय घटनामा १ सय ३ जना पीडित रहेको भए पनि सन् २०२४ को पहिलो ६ महिनामै ५६ जना पीडित भएको इन्सेकले प्रतिवेदनमा उल्लेख गरेको छ ।कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका बढ्दै गएको पाइएकाले आगामी दिनमा यस्ता घटना न्यूनीकरणमा लागिपर्ने बताउनुभयो ।

उहाँले कुन कुन विधि र कसरी प्रचारप्रसार गरेर मानव अधिकारका घटना न्युनिकरण गर्न सकिन्छ सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले धनकुटाका सबै सुरक्षा निकाय र स्थानीय तहहरूसँग छलफल गरी सचेतना मूलक कार्यक्रम गरी रहेको समेत बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी श्यामसिंह चौधरीले धनकुटामा घटना बढ्दै गइरहेकाले मानव अधिकार उल्लङ्घनका घटनालाई मध्य नजर गर्दै न्युनिकरणका लागी आफ्नो तर्फबाट लागिपर्ने बताउनुभयो । उहाँले कुन तरिकाले सहजिकरण गर्न सकिन्छ त्यसरी अगाडी बढ्न साथ सहयोग समेत गर्ने बताउनुभयो ।

कार्यक्रममा धनकुटामा रहेका सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button