तपाईँ सुन्दै हुनुहुन्छः

पदपूर्तिका सम्बन्धमा प्रकाशित समाचार कपोलकल्पित भएको प्राधिकरणको स्पष्टोक्ति

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको नियमित कार्यहरूमा पर्ने पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरूले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बढुवाद्वारा विधिसम्मत ढङ्गले पदपूर्ति गरिने विषय कानुनद्वारा स्वीकृत प्रक्रिया अवलम्बन गरी लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय भएको स्पष्ट पारेको छ ।

“कानूनी व्यवस्था र प्रक्रियाका सम्बन्धमा थोरै पनि ज्ञान नराखी एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनका परिवारको समेत चरित्र हत्या गर्ने गरी कसैको स्वार्थ पूर्तिका लागि त्यसरी प्रकाशन गरिएको स्पष्ट देखिन्छ”। प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तो मनोगत कुण्ठा पोख्न र कसैको स्वार्थ पूर्ति गर्ने ध्येयले प्रकाशन गरिएका कपोलकल्पित र मनगढन्ते समाचारप्रति खेद व्यक्त गर्दै यस्ता भ्रमपूर्ण समाचार लेखि पत्रकारिताको धर्म विपरीत पीत पत्रकारिता भइरहेको तर्फ सम्पूर्ण सरोकारवालाहरूको ध्यानाकर्षण समेत प्राधिकरणले गराएको छ ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीद्वारा जारी गरिएको विज्ञप्तिमा “प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भई नसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको ब्यहोरा समेत सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणमा जानकारी गराइन्छ”, भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button