तपाईँ सुन्दै हुनुहुन्छः

खानेपानी समस्याको समाधानका लागि पोखरीको संरक्षण र नयाँ निर्माणमा जोड

जनकपुरधाम । मधेश प्रदेशमा विगत केही वर्ष यता खानेपानीको समस्या समाधानका लागि पोखरीहरूको संरक्षणका साथै नयाँ पोखरीको निर्माण आवश्यक भएको विज्ञहरूले औंल्याउनुभएको छ ।

“वर्षातको पानी सङ्कलन तथा व्यवस्थापन नीति” विषयक बहस कार्यक्रममा विज्ञहरूले पानीको रिचार्जमा पोखरीहरूको निक्कै महत्वपूर्ण भूमिका रहेकाले पोखरीको संरक्षणका साथै प्राकृतिक अवस्थामा नै राख्नका लागि जोड दिनुभयो ।

ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय मधेश प्रदेश, स्मार्ट वास सोलुसन्स र नेपाल रेन वाटर हार्वेस्टिङ्ग एलायन्सको संयुक्त आयोजनामा भएको कार्यक्रममा विज्ञहरूले जनकपुरधामका कतिपय पोखरी समाप्त भएको र भएको पोखरीलाई सौन्दर्यीकरणको नाउँमा पक्कीकरण गर्नु तथा क्षेत्रफल घटाइनु चिन्ताको विषय भएको बताउनुभयो ।

स्मार्ट वास सोलुसन्सका अध्यक्ष इन्जिनियर रामदिप साहले संघ, प्रदेश तथा स्थानीय सरकार पोखरीको संरक्षण तथा नयाँ पोखरीको निर्माण गरेर वर्षाको पानी सङ्कलन गर्ने नीति नबनाए अगामी दिनमा खानेपानीको थप समस्या आउने बताउनुभयो ।

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव सकि अन्सारीले वर्षाको पानी सङ्कलन गरेर प्रशोधन गरी खानेपानी तथा सिँचाइको रुपमा प्रयोग गर्न मिल्ने भएकाले यस विषयमा प्रदेश सरकार गम्भीर भएको बताउनुभयो ।

कार्यक्रममा खानेपानी सरसफाई तथा वृक्षारोपणमा सक्रिय सामाजिक अभियन्ता, वैज्ञानिक तथा विज्ञहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button