तपाईँ सुन्दै हुनुहुन्छः

कर्णालीमा रोजगारीका आधारहरू तयार हुँदै छन् : श्रममन्त्री अर्याल

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले कर्णालीमा श्रमाधान रोजगार मेलाले आन्तरिक रोजगारी प्रवर्द्धनका आधार तयार गरेको बताउनुभएको छ ।

वीरेन्द्रनगरमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै श्रममन्त्री अर्यालले समृद्धिका लागि अथाह सम्भावना बोकेको कर्णाली प्रदेशलाई संघ सरकारले ढोका मात्रै ढकढकाई दिने बताउनुभयो । रोजगार मेलामा कर्णाली अब आफैँ सक्षम र सामर्थ्य राख्ने भएको देखिएको उहाँको भनाइ थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपालको युवा शक्तिलाई मुलुकभित्र टिकाई राख्न नेपालको शिक्षा प्रणाली र लगानीमा नीतिगत सुधार ल्याउन आवश्यक रहेको औँल्याउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गाबहादुर राउतले नेपाली नागरिकसँग परम्परागत सीप भए पनि त्यसले मान्यता नपाउँदा नेपाली श्रमिकको सीपको मूल्याङ्कन नभएको बताउनुभयो । उहाँले नेपाली युवासँग डोको, राडी, पाखी बुन्ने सीप इन्जिनियरको भन्दा कम नहुँदा पनि प्रमाणपत्र पाउन नसक्दा पहिचान र मूल्याङ्कन हुन नसकेको उल्लेख गर्नुभयो ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले स्थानीय सरकारसँग मिलेर केन्द्रिय सरकारले आयोजना गरेको श्रमाधान रोजगार मेलाले आगामी दिनमा रोजगारी सृजनाको अवसर र आर्थिक समुन्नतिको ढोका खोल्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मेलामा सरकारी तथा नीजि क्षेत्रका गरी ४० वटा स्टल राखिएका छन् । विभिन्न विषयक कार्यशाला, साँस्कृतिक कार्यक्रम पनि मेलामा आयोजना गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button