तपाईँ सुन्दै हुनुहुन्छः

ऋण नतिर्न ज्येष्ठ नागरिकको हत्या

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–१ सुष्पा क्षमावतीका ७७ वर्षीय ज्येष्ठ नागरिक झिलक बहादुर विश्वकर्माको हत्या आरोपमा छिमेकी २ वर्षीय गणेश घिमिरे पक्राउ परेका छन् ।

घिमिरेले मृतक विश्वकर्मासँग झण्डै एक बर्ष अघि दुई लाख रुपैयाँ सापट लिएको र उक्त रकम तिर्न नपर्ने ठानी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो ।

जेठ १७ गतेबाट घरमा नदेखिएका मृतक झिलबहादुर हराएको र गाई बाख्रा कराई रहेको भन्दै छिमेकीले जेठ १९ गते प्रहरीलाई खबर गरेका थिए । हराएको सूचना पाए लगतै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सो क्रममा मृतकको घर पुगी जनप्रतिनिधि र स्थानीयको रोहवरमा ढोकाहरूमा लगाएको ताल्चा फोडेर भित्र सबै ठाउँमा खोजी गरिएको थियो । 

जेठ २० गते झिलक बहादुर घर मुनी मृत अवस्थामा भेटिएको भनि स्थानीयले जानकारी दिएपछि प्रहरीले थप अनुसन्धान सुरु गरेको र सोही क्रममा विश्वकर्माको हत्या छिमेकी गणेश घिमिरेले गरेको खुलेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताउनु भयो । 

मृतक विश्वकर्माको शव किरा परेको र घाटीमा चेप्टो ढुङ्गाले थिचिएको अवस्थामा भेटिएको थियो । विश्वकर्माको शव भएकै ठाउँमा हथौडा समेत भेटिएको थियो । घटना स्थलको अवस्था लगायतका कारण मृतक झिलक बहादुरको हत्या १७ गते राति ९/१० बजेको आसपास भएको निष्कर्ष सहित प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

सो क्रममा काठमाडौँ बस्दै आएका गणेश घिमिरे दिवालीको लागि जेठ ८ गते घर आई झिलक बहादुर हराएकै दिन १७ गते राति परिवारलाई थाहै नदिई काठमाडौँ फर्किएको र उनले मृतकसँग पैसा समेत सापट लिएको जानकारी पाएपछि हत्यामा उनको हात हुनसक्ने आशङ्का सहित अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

अनुसन्धानकै क्रममा घिमिरे बस्दै आएको काठमाडौँको हाडीगाँउ स्थित घर पत्ता लगाई उनी सोही घरमा रहेको सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र प्रदेश प्रहरी कार्यालय बनेपाको प्राविधिक सहयोग तथा प्रहरी वृत्त मालिगाँउको समन्वयमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट गएको प्रहरी टोलिले जेठ २३ गते बिहान उनलाई पक्राउ गरी दोलखा ल्याएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो । 

प्रारम्भिक बयानमा अभियुक्त घिमिरेले मृतकसँग लिएको ऋण तिर्न नपर्ने ठानी उनको हत्या गरेको बताएको र जेठ २४ गते बिहीबार दोलखा जिल्ला अदालतमा ज्यान सम्बन्धि कसुर (कर्तव्य ज्यान) मा पाँच दिनको म्याद लिई थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानमा घट्नामा अन्य कसैको संलग्नता नदेखिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button