तपाईँ सुन्दै हुनुहुन्छः

विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप

नेपालगञ्ज । विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तालिम दिइएको छ । नेपालगञ्ज उपमहानगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले चालू आर्थिक वर्षमा तीनवटा वडाका बस्तीमा पुगेर विद्यालय विमुख किशोरीलाई जीवनोपयोगी सीप सिकाउने उद्देश्यले तीन दिने तालिम दिइएको हो ।

 परसपुर,  पुरैनी र   रामनगरमा ३५-३५ जना विद्यालय विमुख किशोरीलाई तालिम दिइएको महिला विकास अधिकृत पवित्रा पुरीले बताउनुभयो । विद्यालयमा पाइला टेक्दै नटेकेका, सानै कक्षामा विद्यालय छाडेका, मदरसामा सामान्य शिक्षा लिएर माथिल्लो कक्षा नपढेका किशोरीलाई जीवनोपयोगी सीप अन्तर्गत १० वटा सीपहरू सिकाइएको पुरीले जानकारी दिनुभयो । किशोरीहरूलाई आत्म जागरण सीप, निर्णय क्षमता सीप, समस्या समाधान सीप, सिर्जनात्मक सोचाई सीप, समालोचनात्मक सोचाई सीप, प्रभावकारी सञ्चार सीप, अन्तर व्यक्ति सम्बन्ध सीप, अनुभूति सीप, संवेग नियन्त्रण सीप र तनाव व्यवस्थापन सीप विकाससम्बन्धी तालिम दिइएको छ । टोलमै पुगेर विद्यालय विमुख किशोरीको समूह बनाई उनीहरुलाई तालिम दिइएको हो । 

महिला शाखा प्रमुख महिला विकास अधिकृत मञ्जु पाण्डे, महिला विकास अधिकृत पुरी, आशा शाही, केशव कोइराला, सिद्धराज पनेरु, विनिता रेग्मी, आशा नेपाली, दिपा साउद र निर्मला खनालले तालिममा सहजीकरण गर्नुभएको थियो । किशोरीहरूलाई आत्म जागरूक र सिर्जनशील बनाउँदै निर्णय क्षमता बढाउनुका साथै किशोरावस्थामा देखिने संवेगहरू व्यवस्थापन गर्न सिकाई सार्थक जीवन जिउन सक्षम बनाउने उद्देश्यले तालिम दिइएको महिला विकास अधिकृत पुरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button