चन्द्रकोटमा भएको निः शुल्क स्वास्थ्य शिविरमा १७५४ जनाले सेवा लिए
गुल्मी । चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको निः शुल्क स्वास्थ्य शिविरबाट १७५४ जनाले सेवा लिएका छन् ।
शुक्रबार सम्पन्न शिविरमा विशेषज्ञ चिकित्सकद्वारा चेकजाँच, उपचार तथा निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।
शिविरमा फिजिसियन सेवा तर्फ ५८० जना, हाडजोर्नी तथा नशारोग तर्फ ३४७ जना, महिला प्रसूति तथा स्त्रीरोग तर्फ १६० जना, युरो सर्जन तर्फ २४ जना, छाला तथा यौनरोग तर्फ १०१ जना, भिडियो एक्सरे सेवा तर्फ १२२ जना, ई.सी.जी. तर्फ ७२ जना, दन्त चिकित्सा तर्फ ३५ जना, आँखा उपचार सम्बन्धी १५९ जना, प्रयोगशाला सेवा तर्फ १५४ जनाको चेकजाँच गरिएको थियो ।

जनप्रतिनिधिहरूको पदबहालीको २ बर्ष पूरा भएको सन्दर्भमा गाउँपालिकाले एक दिने बृहत् निः शुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।
पालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश नागरिकहरूको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न र नागरिकको स्वास्थ्य प्रतिको जिम्मेवारी वहन गर्दै स्वास्थ्य सुविधा प्रदान गर्ने उद्देश्य बमोजिम शिविर आयोजना गरिएको पालिका अध्यक्ष युवराज खत्री क्षत्रीले जानकारी दिनुभयो ।

कार्यालयका सूचना अधिकारी शिव ज्ञवालीका अनुसार शिविरमा मधुमेहर रक्तचाप, थाइराइड्स, दम, पेट, छाती तथा मुटु रोग सम्बन्धी सामान्य चिकित्सा, हाडजोर्नी तथा नशारोग, महिला प्रसूति तथा स्त्रीरोग, युरो सर्जन, छाला तथा यौनरोग, रेडियोलोजी सेवा, एनेस्थ्योलोजी, दन्त चिकित्सा एवम् आँखा सम्बन्धी रोगको विशेषज्ञ डाक्टरहरूसहितको सेवा प्रदान गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्