बाजुरामा नुनको चरम अभाव

बाजुरा । बाजुरामा नुनको चरम अभाव भएको छ।
नेपाल सरकारद्वारा सहुलियत दरमा बिक्री वितरण हुँदै आएको भानु आयोडिन नुन सदरमुकाम मार्तडी लगायतका गोदाममा सकिएपछि नुन डिपो र नुन बिक्री केन्द्रका कार्यालयहरूमा करिब एक महिनादेखि ताला लगाइएको छ।
बाजुराका लागि निर्धारण गरिएको अनुदान कोटाभन्दा थप कोटा ढुवानी गर्दा पनि नुनको अभाव भएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले जनाएको छ। जिल्लास्थित साल्ट ट्रेडिङका डिपो कार्यालय र बिक्री केन्द्रहरूमा नुन सकिएसँगै बजारमा समेत नुनको अभाव भएको छ।
सदरमुकाम मार्तडीको दुनि हाटबजार, बाम्का बजार, बेतालमाण्डौ बजारलगायत स्थानीय बजारहरूमा नुन पाउन छोडेको स्थानीयले गुनासो गरेका छन् । बडिमालिका नगरपालिका वडा नम्बर ५ का स्थानीय हंश साउदका अनुसार बजारमा ढिके नुन समेत पाउन मुस्किल भएको छ।
यता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डिपो कार्यालय बाजुराका प्रमुख टेक बहादुर बोहोराले भने ढुवानी अनुदानको कोटा सकिएकाले थप कोटा ढुवानीका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र साल्ट ट्रेडिङ केन्द्रिय कार्यालय काठमाडौँमा माग पत्र बुझाइएको र केही समय भित्रै जिल्लामा नुन आइसक्ने बताउनुभयो ।
थप अनुदान कोटाका लागि पहल भइरहेको र एक हप्ताभित्र बाजुरावासीले नुन पाउने गरि धनगढीबाट पठाउने तयारी भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख वासुदेव उपाध्यायले बताउनुभयो।
उहाँका अनुसार ठेकेदारका कारण नुन ढुवानीमा ढिलाइ भएको हो । बाजुरामा रहेका ४ वटा साल्ट ट्रेडिङ्का डिपो र ४ वटा बिक्री केन्द्र मध्ये अस्थायी डिपो मार्तडीमा ११ सय८५ क्विन्टल मौरे अस्थायी डिपोमा १ हजार ४६२ क्वीनटल डोगडी बिक्री केन्द्रमा ४ सय ४२ क्वीनटल किर्तिचौर बिकी केन्द्र गौमुलमा ४ सय ४२ क्विन्टल ५० केजी कोल्टी अस्थायी डिपो केन्द्रमा १५ सय ५० क्वीनटल ५० केजी कवाडी बिक्री केन्द्र बिच्छ्यामा ८सय ८५ क्वीटल पाण्डपगुफा बेर्मा बिक्री केन्द्रमा ४ सय ४२ क्वीनटल तथा धुलाचौर बिक्री केन्द्र हिमालिमा ४ सय ४२ क्वीटल थप कोटासहित ढुवानी गरिएको थियो ।
हाल जिल्लाको पुर्वोत्तरी क्षेत्रस्थित कोल्टि डिपोमा १ सय १ क्वीनटल, र कवाडी बिक्री केन्द्रमा २सय ९० क्वीनटल नुन मौज्दात छ भने मार्तडी डिपो केन्द्रमा ब्यारेक जिल्ला प्रहरी कार्यालय बाजुरालगायत कार्यालय तथा इमेर्जेन्सिका लागि मात्र ११ क्वीटल नुन मौज्दात रहेको छ। बाँकी ५ वटा डिपो केन्द्र तथा बिक्री केन्द्रहरूका गोदाम रित्तै रहेका छन् ।,







प्रतिक्रिया राख्नुहोस्