तीनदिने दक्षिण एशियाली महिलाहरूको सम्मेलन २०८१ सम्पन्न

ललितपुर । ललितपुरमा चलेको तीनदिने दक्षिण एशियाली महिलाहरूको सम्मेलन २०८१ को, नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा आज औपचारिक समापन भएको छ ।
सम्मेलनमा वैशाख ३० गतेको उद्घाटन पछि दक्षिण एसियामा महिला सशक्तीकरणमा कूटनैतिक प्रयास, दिगो विकास लक्ष प्राप्तिमा महिला उद्यमशीलता, पर्वतीय महिला एवं जलवायु परिवर्तन, वित्त र बजारसम्म महिलाको पहुँच, महिलाको आर्थिक सशक्तीकरणमा नीति र पैरवी, ग्रामीण पर्यटन र महिला सशक्तिकरण, लैङ्गिक खाडल न्यूनीकरणमा डिजिटल समावेशिता, दक्षिण एसियाको क्षमता अभिवृद्धिमा दात्री निकायहरूको भूमिका, महिलाका साना तथा मझौला उद्योगका सफलता र चुनौतीका कथाहरू लगायत विभिन्न ९ वटा प्यानलमा नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्सका प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, महिला उद्यमी, पर्यटन कर्मी, नीति निर्माता र चिकित्सक समेत गरि करिब ५० जनाले प्रस्तुति राखेका थिए ।साथै नेपालमा रहेका बेलायती राजदूत, भारतीय राजदूतावासका अधिकारी र सार्क सचिवालयका अधिकारीको सहभागिताले सम्मेलनमा मित्र राष्ट्रहरूको नेपाल प्रतिको अनुभव समेत सुन्ने र बुझ्ने अवसर प्रदान गरेको थियो ।

प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मेलनको समापन मन्तव्यमा महिलाको आर्थिक सशक्तिकरण र दिगो विकासमा योगदान पुर्याउने पहललाई सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धतालाई जोड दिनुभयो । उहाँले दक्षिण एसियाभरि महिलाको अधिकार र अवसरलाई अगाडि बढाउने राज्य नीति, सहयोग र निरन्तर प्रयासको महत्त्वलाई दोहोर्याउनुका साथै तीन दिने दक्षिण एसियाली महिला सम्मेलन सफलता र एक अर्काबाट भएको सिकाईका लागि बधाई दिनुभयो ।
समापन सत्रको अतिथि मन्तव्यमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले “हामीले महिलाका अवसरहरूलाई सीमित गर्ने परम्परागत लैङ्गिक भूमिकाहरूलाई पनि चुनौती दिन आवश्यक छ । दक्षिण एसियाली महिला सम्मेलन २०२४ हाम्रा लागि एकसाथ आउन र आफ्ना अनुभवहरू साझा गर्ने, एक अर्काबाट सिक्ने र यस क्षेत्रमा महिलाको आर्थिक सशक्तीकरणलाई अगाडि बढाउन रणनीतिहरू विकास गर्ने महत्त्वपूर्ण अवसर हो” भन्ने विचार राख्नु भयो ।

त्यसैगरि कार्यक्रमका अर्का अतिथि नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले पनि उपस्थितहरूलाई सम्बोधन गर्दै ग्रामीण पर्यटनमा दिगो विकास, डिजिटल रूपान्तरण र लैङ्गिक असमानता घटाएर महिलाको आर्थिक सशक्तिकरण बढाउनुपर्नेमा जोड दिनुभयो ।
दक्षिण एसियामा महिलाको आर्थिक सशक्तिकरण बढाउन पुँजी र बजारमा महिलाको सबल उपस्थिति, ग्रामीण पर्यटनमा दिगो विकास र महिला सशक्तिकरण, लैङ्गिक असमानता न्यूनीकरण र डिजिटल रूपान्तरणमार्फत महिला सशक्तीकरणको मार्ग तय गर्न, दक्षिण एसियाका महिलाका सामूहिक चुनौतीहरू, लैङ्गिक असमानताको मूल कारणहरू पहिचान गर्न र दक्षिण एसियाली अर्थतन्त्रको सन्दर्भमा व्यापार, उत्पादन, पर्यटन व्यवस्थापन र कृषिमा महिला सहभागिताको प्रवर्द्धनको महत्वलाई सम्मेलनमा उजागर गर्यो ।
गत वैशाख ३० देखि सम्माननीय उप-राष्ट्रपति श्री रामसहायप्रसाद यादवले होटल हिमालय, कुपण्डोल ललितपुरमा सो सम्मेलनको उद्घाटन गरेका भने उद्घाटन सत्रमा, नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको विशेष आतिथ्य रहेको थियो भने सम्मेलनमा करिब २०० जनाको सक्रिय सहभागिता र भिजिटर समेत गरि ४०० को उपस्थिति थियो ।








प्रतिक्रिया राख्नुहोस्