भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि सुरु भएको चुनावमा संसद्का ९६ स्थानका लागि आज मतदान हुँदैछ ।
साथै आन्ध्र प्रदेश राज्यको १७५ सदस्यीय विधान सभा र ओडिसा राज्यको २८ सदस्यीय विधान सभाका लागि पनि आजै मतदान हुँदैछ ।
लोकसभाको ९६ स्थानमध्ये आन्ध्र प्रदेशका २५, तेलाङ्गानाका १७, उत्तर प्रदेशका १३, महाराष्ट्रका ११, मध्य प्रदेशका आठ, पश्चिम बङ्गालका आठ, बिहारका पाँच, झारखण्ड र ओडिसाका चार चार तथा जम्मु काश्मीरका एक स्थानमा चुनाव हुँदैछ ।
निर्वाचन आयोगका अनुसार यस चरणमा कूल एक हजार ७१७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस चरणको चुनावमा एआइएआइएमका प्रमुख असासुद्दीन ओवैसी, समाजवादी पार्टीका अध्यक्ष अखिलेख यादव, पश्चिम बङ्गाल काँग्रेसका प्रमुख अधीर रञ्जन चौधरी, टिएमसीका नेता महुआ मोइत्रा, भाजपाका नेता गिरिराज सिंह, जनता दल युनाइटेडका राजीव रञ्जन सिंह ९ललन सिंह०, टिएमसीका नेता शत्रुघ्न सिन्हा र खेलाडी युसुफ पठान मुख्य प्रतिस्पर्धी छन् ।
तेस्रो चरणको मतदानसम्म २८३ स्थानको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको छ । भारतको लोकसभामा ५४३ स्थान छ ।रासस








प्रतिक्रिया राख्नुहोस्