‘राजनीतिक अस्थिरता रोक्न संविधान संशोधन आवश्यक’
कञ्चनपुर । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरता रोक्न र संविधानमा भएका दुर्बल पक्षहरूलाई सुधार गर्न संविधान संशोधन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

गृह जिल्ला कञ्चनपुरमा सोमबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले नेपालको संविधान २०७२ जारी भएको आठ वर्ष पूरा भएकाले त्यसको समीक्षा गर्नुपर्ने र आवश्यक भए संशोधन गर्नुपर्ने ठहर काँग्रेसले गरेको बताउनुभयो ।
त्यस अवसरमा लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन नहुँदासम्म काँग्रेसले संसद् चल्न नदिने चेतावनी पनि दिनुभयो । सहकारीको बचत अपचलन गरेको प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेलाई बाहिर राखेर छानबिन गर्नुको कुनै अर्थ नहुने भन्दै गृहमन्त्री समेतलाई छानबिन गर्ने गरी संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली काँग्रेसको माग रहेको उहाँले सुनाउनुभयो ।
लेखकले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि रहेकोमा कुनै द्विविधा नरहेको धारणा राख्नुभयो । काँग्रेसको समेत सहमतिमा जारी भएको चुच्चे नक्सालाई नयाँ नोटमा छाप्ने विषयलाई अन्यथा मान्न नहुने बताउँदै उहाँले मित्रराष्ट्रसँग कूटनीतिक पहल समेत जारी राखेर उक्त भूमि फिर्ता लिनुपर्ने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्