तपाईँ सुन्दै हुनुहुन्छः

महिलाहरूलाई बनायो आफ्नै बारीको तरकारीले आत्मनिर्भर

बाँके । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ४७ वर्षीया जलमी चौधरीको आफ्नै बारीमा फलेको अर्ग्यानिक तरकारी नेपालगन्जमा विक्री गर्दै आउनुभएको छ ।

आफूले उत्पादन गरेका ताजा अर्ग्यानिक तरकारी नेपालगन्जमा ल्याएर बिक्री गर्दै आएको उहाँले जानकारी दिनुभयो । जलमी चौधरीले भन्नुभयो,“म पहिलादेखि नै कृषि पेसामा आबद्ध थिएँ, विगत १५–१६ वर्षदेखि हरेक दिन बिहान आफूले उत्पादन गरेका अर्ग्यानिक तरकारी साइकलमा राखेर नेपालगन्ज ल्याएर विक्री गर्थे ।” 

उहाँले भन्नुभयो, सुरुमा एक्लै तरकारी नेपालगन्जसम्म ल्याएर धम्बोझीस्थित सिटिजन बैङ्कको अगाडि सडकको किनारामा लगाउने गर्थे तर पछि बिस्तारै उक्त ठाउँले बजारको रूप नै लिन पुग्यो । अहिले बाँके र बर्दियाबाट तरकारी लिएर कृषकहरू आउने गरेको चौधरीको भनाई थियो । 

“नेपालगन्जको सडकमा यसरी तरकारी राखेर बेच्न थालेको चार वर्ष भयो, छुट्टै ठाउँ छैन बिहान ९ बजेपछि नगर प्रहरी आएर बेच्न दिन्न, लखेट्छ” उहाँले भन्नुभयो, “भारतबाट ल्याएर तरकारी बेच्नेहरूका लागि सम्बन्धित सरोकारवालाले विभिन्न स्थानमा निश्चित ठाउँ बनाइदिएको छ, तर हामीले गोबर मलबाट उत्पादन गरेका अर्ग्यानिक तरकारी बेच्ने ठाउँ छैन, हामीलाई पनि निश्चित ठाउँ तोकिदिनुपर्छ ।”

प्रत्येक बिहान सडक छेउमा तरकारी बेचेर जलमी चौधरीले दैनिक रु तिन हजार देखि पाँच हजारसम्म कमाउने गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ६ कट्ठा खेतमा उत्पादन भएको तरकारी बेचेर २ छोरी र १ छोरालाई पठाएको छु । हाल छोरा नेपाल प्रहरीमा कार्यरत छन् भने दुवै छोरीहरू बिए अध्ययन गरी रहेको जानकारी दिनु भयो । चौधरीले तरकारी बेचेरै ७ धुर जमिन नेपालगन्ज बजारमा खरिद गरेको सुनाउनु भयो ।उहाँले भन्नुभयो, वर्षमा ७ लाख भन्दा बढीको तरकारी बेच्ने गरेको छु । 

जलमीले झैँ आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत तिन वर्षदेखि घर चलाउँदै आउनु भएको छ सिता चौधरी पनि । नेपालगन्ज वडा नं. १ कि ३५ वर्षीया सिताको आम्दानी दैनिक रु एक हजार पाँच सयदेखि दुई हजार सम्मको हुने गर्दछ । 

‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुन्जेल यही नै गर्ने हो’, सिताले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गरी रहनु भएको छ ।

नेपालगन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देख्न सकिन्छ । प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजाने गर्दछन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button