उद्योग फस्टाए मात्र रोजगार प्राप्त हुन्छ : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग फस्टाए मात्र रोजगारी प्राप्त हुने बताउनुभएको छ ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज पोखरामा आयोजना भएको श्रमिक सभामा मुख्यमन्त्री अधिकारीले उद्योग फस्टाए मात्र यहाँ रोजगारको अवसर हुने सिर्जना हुने बताउनुभयो ।
उद्योग फस्टाउँदा स्वाधीन अर्थतन्त्रमा टेवा पुग्ने उल्लेख गर्नुहुँदै उहाँले श्रम क्षेत्रबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई व्यवस्थित ढंगले सूत्रबद्ध गर्दै आफूले काम गर्ने प्रतिबद्धता व्यक्त समेत गर्नुभयो । उहाँले भन्नुभयो “जबसम्म उद्योग फस्टाउन सक्दैन तबसम्म रोजगारी प्राप्त हुन सक्दैन, देशको स्वाधीन अर्थतन्त्र निर्माण हुन सक्दैन’ श्रम क्षेत्रबाट प्राप्त भएका महत्वपूर्ण सुझावहरूलाई व्यवस्थित ढंगले सूत्रबद्ध गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
मुख्यमन्त्री अधिकारीले हरेक मानिसले श्रममा विश्वास गर्नुपर्ने उल्लेख गर्नुहुँदै श्रम हामीहरूको लागि अत्यन्त मूल्यवान् विषय भएको बताउनुभयो । उहाँले श्रमबाट नै राष्ट्रिय पुँजी निर्माण हुने दाबी भन्नुहुँदै नेपालमा अधिकार प्राप्तिको आन्दोलन सकिएर श्रमिक वर्गको हक, हितको लागि ऐन कानुन निर्माण भएपनि पूर्ण कार्यान्वयन भई नसकेको बताउनुभयो ।
उहाँले श्रम ऐनको कार्यान्वयनको लागि रोजगारदाता र श्रमिक दुवैले आफ्नो कर्तव्य र दायित्व बुझ्न सक्नुपर्नेमा बताउनभयो । उहाँले गण्डकी प्रदेश सरकार समृद्ध प्रदेश खुशी प्रदेशवासी बनाउने अभियानमा लागेको बताउनुभयो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकी प्रदेश पोखराले आयोजना गरेको सभामा नेपाली कांग्रेस गण्डकी प्रदेश अध्यक्ष शुक्रराज शर्मा, नेकपा एमाले गण्डकी प्रदेश सचिव धनञ्जय दवाडी, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, नेपाल ट्रेड युनियन कांग्रेस उपाध्यक्ष राधिका कुइँकेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ उपाध्यक्ष सोमबहादुर थापा, नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी अध्यक्ष मुरारी शर्मा, जिफन्ट गण्डकी अध्यक्ष रुद्र खत्री र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र गण्डकीका सदस्य रुद्र गौतम लगायतले ट्रेड युनियन अधिकार र श्रमिक दिवसको महत्वबारे आफ्नो धारणा राख्नुभएको थियो ।
श्रमिक सभा अगाडि गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी समेतको सहभागितामा पोखराको पृथ्वी चोकदेखि सिर्जना चोकसम्म श्रमिक र्यालीको आयोजना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्