खाद्यान्नमा लगाइएको कर र भन्सार छुट दिन व्यवसायीहरूको माग

बाँके । राजश्व परामर्श समितिले बाँकेका उद्योगी, व्यवसायीहरूसँग गरेको अन्तरक्रियामा बोल्दै व्यवसायीहरूले खाद्यान्नमा लगाइएको कर र भन्सार छुट दिन माग गरेका छन् ।
राजश्व परामर्श समितिका सभापति एवं अर्थ मन्त्रालयका सचिव डाक्टर राम प्रसाद घिमिरेको अध्यक्षतामा भएको अन्तरक्रियामा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले कर तिर्ने व्यवसायीलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गर्नु भयो । भन्सार गरेर ल्याएको मालसामान ठाउँ–ठाउँमा चेकजाँच गरेर व्यवसायीलाई दुःख दिने काम भइरहेको भन्दै केन्द्रीय सदस्य मन्सुरीले त्यसको अन्त्य हुनुपर्ने माग गर्नु भयो । उहाँले प्रश्न गर्नुभयो, ‘भन्सारबाट नियम विपरीत सामान भित्रिएकै हो भने व्यवसायीलाई कारबाही गर्नुपर्छ तर सम्बन्धित कर्मचारीलाई उन्मुक्ति दिने काम किन हुन्छ ?’
खुला सीमाका कारण भइरहेको अवैध आयात र तस्करी नियन्त्रणका लागि उचित भन्सार दर कायम हुनुपर्ने मख्खन धामीले माग गर्नु भयो । नेपालगन्ज उद्योग वाणिज्य सङ्घ का पूर्व अध्यक्ष नन्दलाल वैश्यले उद्योगी, व्यवसायी बलियो भए भने मात्रै राज्य बलियो हुनसक्ने भन्दै सरकारले उद्योगी, व्यवसायीलाई बलियो बनाउनु पर्ने जिकिर गर्नु भयो । उहाँले देशमा संघीताको अभ्यास भइरहेको समयमा पनि भन्सार मूल्याङ्कन पद्धति पञ्चायतकालीन रहेको भन्दै त्यसमा परिवर्तन नहुनु सङ्घीयता माथि नै प्रश्न लागेको जिकिर गर्नु भयो । उहाँले नेपालमा लगानीको कमी नरहेको बताउँदै उद्योग, व्यवसाय सहज रूपमा चल्ने वातावरण सरकारले तयार गर्नुपर्ने माग गर्नुभयो ।

नेपाल उद्योग व्यापार महासङ्घका केन्द्रीय सचिवालय सदस्य एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य दीपेन्द्र विष्टले राजश्व परामर्श समितिले सङ्कलन गर्ने सुझाव कार्यान्वयन नहुने गरेको भन्दै सुझाव लिएपछि त्यसको कार्यान्वयन गर्न समितिको ध्यानाकर्षण गराउनु भएको थियो ।

बाँकेका उद्योगी व्यवसायीहरू जेआर भुसाल, निर्माण व्यवसायी टेक बहादुर खड्का, सघका उपाध्यक्ष चिरञ्जीवी ओली, जडीबुटी व्यवसायी सघका अध्यक्ष टङ्क प्रसाद शर्मा, व्यवसायीहरू मख्खन धामी, सञ्जय थापा,दीपेन्द्र विष्ट र कोहलपुर व्यापार सङ्घका अध्यक्ष लक्ष्मण पौडेल लगायतले भन्सारमा उचित मूल्याङ्कन हुन नसक्दा तस्करी बढेको जनाउँदै करको दरमा विविधता र खाद्यान्न सामग्रीमा कर छुटको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्