कास्कीका सहकारी पीडितहरू न्याय खोज्दै सडकमा

पोखरा । कास्कीका सहकारी पीडितहरू न्याय खोज्दै सडकमा उत्रिएका छन् । कास्कीका हाल ६ वटा सहकारीमा समस्या भए पछि सहकारीका बचतकर्ताहरू एक भई सोमबार सडकमा उत्रिएका हुन् ।
सूर्यदर्शन, इमेज, मित्रमिलन, शिवशिखर, बलिदानी र विन्दवासिनी सहकारीका पीडित बचतकर्ता संयुक्त रुपमा सोमबार पोखराको जिल्ला प्रहरी कार्यालय कास्कीको गेट अगाडिबाट सुरु भएको बिरोध र्याली पोखरा महानगरपालिका हुँदै पोखराको नगर परिक्रमा सहित जिल्ला प्रशासन कार्यालय कास्कीमा पुगेर धर्ना सहित ज्ञापन पत्र बुझाएका हुन् ।
विगत २ बर्ष देखि सहकारी पीडितहरूले न्यायको खोजीमा प्रधानमन्त्री, मन्त्री, सांसद देखि प्रतिपक्ष दलका नेताहरूलाई समेत भेट्दा हालसम्म कुनै सुनुवाई नभएको भन्दै कास्कीका सहकारी पीडितहरू सोमबार संयुक्त रुपमा आन्दोलित हुँदै सडकमा बिरोध प्रदर्शन गरेका हुन ।

एक लाख भन्दा बढी व्यक्तिहरूको ६ वटा सहकारीबाटै करिब ३ अर्ब रुपैयाँ आर्थिक हिनामिना (अपचलन) गरेको कास्की सहकारी बचत पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठले दाबी गर्नु भयो । सहकारीको रकम हिनामिना गर्ने उपर फरार अभियुक्तहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उहाँले सञ्चालक तथा व्यवस्थापकहरू अधिकांश फरार भएको र उनीहरुलाई राजनीति संरक्षण रहेको जनाउनु भयो ।
प्रधानमन्त्री, गृहमन्त्री, प्रमुख दलका शीर्ष नेतालाई आफूहरूको समस्या जानकारी गराउँदै आएको अवस्थामा कतैबाट पनि मागको सम्बोधन हुने र आश्वासन नपाएकोले सामूहिक रुपमा आन्दोलन गर्न सुरु गरिएको उनले जनाए ।
सरकारले चाहेमा सहकारीको रकम हिनामिना गर्नेलाई तत्काल पक्राउ गर्न सक्ने तर सरकारले चासो नदिएको पीढीहरूको गुनासो रहेको छ ।
सङ्घर्ष समितिले सोमबार पोखरामा बिरोध प्रदर्शन सहित पोखरा महानगरपालिकामा समेत ज्ञापन पत्र बुझाउनु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्