तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइँदै

जुम्ला । जुम्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय एकजुट भएका छन् । 

कर्णाली राजमार्गको विकास र स्थानीय तहले गाउँ गाउँमा सडक पहुँच विस्तार गरेसँगै बढ्दो सवारी चापपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि सरोकारवाला पक्ष एकजुट भएका हुन् । 

जिल्ला प्रहरी कार्यालयमा आज आयोजित अन्तरक्रियामा सहभागी सरोकारवाला व्यक्तिले ट्राफिक प्रहरी एक्लैले मात्रै सबै काम गर्न नसक्ने भन्दै सुरक्षित जुम्ला निर्माणका लागि ट्राफिक व्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।  

सडक अतिक्रमण बढेको, नागरिकमा ट्राफिक चेतना नभएको, सवारीले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको, विभिन्न ठाउँमा राखिएका ट्राफिक सङ्केत तथा चिन्हहरू नभएको, अधिकांश ठाउँमा सडक तथा गल्लीहरू साँघुरो भएको, जथाभाबी पार्किङ भइरहेको लगायतका समस्याले ट्राफिक व्यवस्थापनमा चुनौती भएको प्रहरी नायव उपरीक्षक छदीलाल कामतीले बताउनुभयो ।

उहाँले जुम्लाको मुख्य बजारदेखि रारा लिही, त्रिवेणी कुडारी, तातोपानी, एैरेनी उम्गाड, बसपार्क, एयरपोर्ट लगायतका ठाउँमा व्यवस्थित तथा सहज ट्राफिक व्यवस्थापन गर्न सबै सरोकारवालाको रचनात्मक सहयोग आवश्यक रहेको बताउनुभयो । 

प्रहरी नायव उपरीक्षक कामतीले सवारीको चापसँगै बढ्दो दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै ट्राफिक व्यवस्थापनलाई अभियानकै रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो  

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले मानवीय प्रयोजनका लागि सडक, गल्ली, सदरमुकामको बजारदेखि ग्रामीण बजार दुर्घटनाको जोखिम बढेको बताउनुभयो । 

सदरमुकामदेखि आठै पालिकाका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनु पर्ने उल्लेख गर्नुहुँदै उहाँले ट्राफिक प्रहरीलाई सम्बन्धित स्थानीय तहले आवश्यक सहजीकरण तथा समन्वय गर्न पनि आग्रह गर्नुभयो ।  

चन्दननाथ नगरपालिका मेयर राजु सिंह कठायतले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन नगरपालिकाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले पालिकाले पार्किङ व्यवस्थापनलाई पहिलो प्राथमिकता दिने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले यातायात व्यवसायी तथा सवारी चालकलाई पनि ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभयो । नागरिकमा ट्राफिक चेतना नहुनु र सडक साँघुरो हुनुले जोखिम बढिरहेको अवस्थामा चालक, यातायात व्यवसायी, स्थानीय नागरिक सबै सचेत हुनु पर्नेमा प्रजिअ घिमिरेले जोड दिनुभयो । 

अन्तरक्रिया कार्यक्रममा सहभागी सबै सरोकारवालाले जुम्लाको ट्राफिक व्यवस्थापनलाई विगतको भन्दा प्रभावकारी र सहज बनाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button